Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नौ वित्तीय संस्थाको हकप्रद निष्काशन : कहाँ दिने आवेदन ? कहिलेसम्म छ म्याद ?

२०७४ बैशाख १५ गते

नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकिदिएको समयावधि सकिनै लाग्दा बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद निष्काशनको प्रक्रियालाई तीव्र पारेका छन् । कतिपय बैंकहरुले यसै महिनाभित्र हकप्रद सेयर निष्काशन सुरु गर्ने तयारीमा छन् भने कतिपयले निष्काशन गरिरहेका छन् । यतिबेला, नौ वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेका छन् । हाल हकप्रद निष्काशन गरिरहेका संस्थाहरुमध्ये, दुई वटा विकास बैंक, एउटा लघुवित्त र बाँकी छ वटा वाणिज्य बैंकहरु रहेका छन् । समग्रमा हेरौँ, कुन बैंकको कति कित्ता सेयर निष्काशन भइरहेको छ र आवेदन दिने म्याद कहिलेसम्म छ ?

टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १३ गतेदेखि हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी वैशाख १७ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा माघ ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 

टुरिजमले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ बराबरको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयर निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रद खरिद गर्नका लागि नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड, कुमारी बैङ्क लिमिटेड, सानिमा बैङ्क लिमिटेडबाट आवेदन बुझाउन सकिन्छ । 

हाल टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब ८३ करोड ९५ लाख ४२ हजार चार सय रुपैयाँ पुग्नेछ ।

नेरुडे लघुवित्त विकास बैंक
नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता हकप्रद सेयर सोमबार (चैत्र १४ गते) देखि निष्काशन गरेको हो ।

वैशाख १७ गतेसम्म निष्काशन खुला रहने कम्पनीको हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ । नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय विराटनगर, मोरङ र एनसिएम मर्चेण्ट बैङ्किङ  लिमिटेड कमलपोखरीबाट उक्त हकप्रद सेयरका लागि आवेदन दिन पाइनेछ ।

हाल नेरुडे लघुवित्तको चुक्तापुँजी १८ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि लघुवित्तको चुक्तापुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।

एनआईसी एसिया बैंक
एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन मंगलबार (चैत्र १५ गते) देखि सुरु भएको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले पाएको छ । 

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । एनआइसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा विक्री प्रबन्धकको कार्यालयबाट हकप्रद खरिदका लागि आवेदन बुझाउन सकिनेछ । 

बैंकको २६ औँ वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन सुरु गरिएको हो । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २५ प्रतिशत अर्थात १० बराबर २.५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले गरेको हकप्रदमा गत फागुन २५ गतेसम्म कायम झन्डै ८० हजार सेयरधनीले आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन बैशाख २७ गतेसम्म खुला रहनेछ । 

बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको उक्त हकप्रदमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाटुलेघर र सिटिजन्स बैंक इन्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन सय ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिटिजन्स बैंकको चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ ।

हकप्रद निष्काशन गर्नेसम्बन्धी निर्णय बैंकको दशौँ वार्षिक साधारणसभाबाट पारित भएको थियो । बैंकले यसै आर्थिक वर्ष भित्र आठ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउने लक्ष्य लिएको जनाएको छ ।

प्रभु इन्स्योरेन्स लिमिटेड
प्रभु इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशा सुरु गरेको छ । प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयरको विक्री खुला गरेको हो । कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् । 

हकप्रद निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ ।

३८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । हकप्रद समेत निष्काशन गरेपछि प्रभुको चुक्ता पूँजी ५७ करोड ७७ लाख रुपैयाँ नाघ्नेछ । कम्पनीले धितोपत्र बोर्डबाट फागुन १२ गते हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडले गत वैशाख ३ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । जेठ ७ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा चैत्र १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त हकप्रद खरिद गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, लक्ष्मी बैङ्क लिमिटेड हात्तीसार र काठमाडौंका शाखा कार्यालय हरु, लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, सिद्धार्थ क्यापिटल नारायणचौर , नक्सालबाट दरखास्त फाराम उपलब्ध हुने बैंकले जनाएको छ । 

लक्ष्मी बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ बराबरको तीन करोड १५ लाख ९० हजार तीन सय तीन कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ३१ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडले गत बैशाख ७ गतेदेखि १००ः२३.७४ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । जेठ १० गतेसम्म खुला रहने हकप्रदमा चैत्र २८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

हकप्रद सेयर निष्काशनको लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयरमा सभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ ।  

नेपाल बैंकले बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।

सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड
सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडले पनि गत वैशाख ७ गतेदेखि ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकको हकप्रदमा जेठ १० गतेसम्म आवेदन दिन पाइनेछ । 

सिद्धार्थले एक सय रुपैयाँ अंकित दरमा ८५ करोड १५ लाख पाँच सय ६० रुपैयाँ बराबरको ८५ लाख १५ हजार पाँच दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नारायणचौर र सिद्धार्थ डेभलपमेण्ट बैंकको सबै शाखा कार्यालयहरुबाट दिन सकिन्छ ।

हाल सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ४१ करोड ९१ लाख रहेको रुपैयाँ छ । ६० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पुँजी दुई अर्ब २७ करोड नाघ्नेछ ।

नेपाल बंगलादेश बैंक लिमिटेड
नेपाल बंगलादेश बैंक लिमिटेडले पनि गत वैशाख ७ गतेदेखि नै ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । जेठ १० गतेसम्म निष्काशन खुला रहने हकप्रदको निष्काशन तथा विक्रीसम्बन्धी प्रबन्ध गर्ने जिम्मा ग्लोबल आईएमई क्यापिटल लिमिटेडले पाएको छ । 

बैंकको सेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय कमलादी, साथै काठमाडौं उपत्यका भित्र न्यूरोड, भैंसेपाटी, बिजुलीबजार, कालीमाटी, कुमारीपाटी, इमाडोल, सल्लाघारी, कपन, आकाशेधारा, बालाजु, जोरपाटी, ट्याङलाफाँट किर्तिपुर, र महाराजगञ्ज शाखाबाट आवेदन दिन सक्नेछन् । त्यस्तै उपत्यका बाहिर विराजटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, नारायाणघाट, बुटवल, धनगढी, बिर्तामोड, घोराही, जनकपुर, सुर्खेत, हेटौंडा, विराटचोक मोरङ, संक्रान्ती बजार तेह्रथुम, खलंगा बजार दार्चुला, सल्यान, भैरहवा, भोजपुर, धुन्चे रसुवा, महेन्द्रपथ धरान, बट्टारबजार नुवाकोट, कर्सिया मोरङ, गल्छी धादिङ, झल्हारी कञ्चनपुर, मुसिकोट रुकुम, फिदिम पाँचथर, खैरनि चितवन, चैनपुर बझाङ, कुस्मा पर्वत र खजुरा बाँके शाखाबाट आवेदन दिन सकिनेछ ।

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब २० करोड ९४ लाख छ हजार आठ सय ८० रुपैयाँको तीन करोड २० लाख ९४ हजार ६८ दशमलव ८० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल नेपाल बंगलादेश बैंकको चुक्तापुँजी चार अर्ब एक करोड १७ लाख ५९ हजार रूपैयाँ छ । यसबाट ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी सात अर्ब २० करोड रुपैयाँ नाघ्नेछ ।