अशोक शेरचन, बैंकर्स
नेपालमा वित्तीय साक्षरताको आवस्यकता धेरै छ । वित्तीय साक्षरता अन्तरगत नेपाल राष्ट्र बैंकको प्रबद्र्धनमा सुरु भएको वित्तीय जागरण राष्ट्रिय अभियान कार्यक्रममा हामीले सहकार्य गरिरहेका छौं । यसमा बैंकर्स संघले कसरी वित्तीय चेतना अघि बढाउन सकिन्छ भनेर लागिरेको छ । मिडिया इन्टरनेसनलको आयोजना र विभन्न संघसंस्थाहरुको सहकार्यमा भइरहेको यसै कार्यक्रम अन्तरगत हामीले सहकार्य अघि बढाईरहेका छौँ । यस अन्तर्गत बैकिङ शिक्षालाई बढाउने क्रममा बिभिन्न स्थानहरुमा भएका कार्यक्रममध्ये म्याग्दीको दरबारङमा भएको वित्तीय साक्षरता अभियानमा म पनि सहभागी हुने मौका पाएको थिए । त्यहाँ देखिएको स्थानीय मानिसहरुको बैंकिङ चेतनामा आकर्षण देख्दा म निकै हर्षित भए । बैकिङ चेतना र बैंकिङ शिक्षाको लागि मानिसको आकर्षण निकै छ । यो आकर्षण भनेको आर्थिक विकासको सूरुवाती हो । वित्तीय साक्षरता बढाउन अब हरेक क्षेत्रमा सबै पक्षले आआफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ भन्ने मलाई लागेको छ । त्यसै कुराहरुलाई अझ बेरै बढी मानिस माझ लैजान सकिन्छ भनेर आगामी बैसाख १५, १६ र १७ गते राजधानीको भृकुटिमण्डपमा बैकिङ एक्स्पो आयोजना गर्न लागिएको छ । बैकिङ एक्स्पोमा बिभिन्न कार्यपत्रहरु समेत प्रस्तुत गरिनेछ । यो कार्यक्रम बिशेष गरेर बिद्यार्थी एवं उद्यमशिलतामा लाग्न चाहाने व्यक्तिहरुलाई फोकस गरेर गर्न लागिएको छ । जसको कारण नेपालको अर्थतन्त्रलाई चलायमान राख्न अहिलेका विद्यार्थीहरुको प्रत्यक्ष रुपमा सहभागीस्ता होस भन्ने किसिमको सन्देश दिन खोजिएको हो ।
बैंक, अर्थतन्त्र र विकास
‘बैंक’ भन्नासाथ बचत तथा ऋणसँग जोडिएका धेरै कुराहरु हुन्छन् । नेपालको अर्थतन्त्रलाई चलायमान राख्न सानो अथवा ठूलो रुपमा बिभिन्न किसिमका योगदानहरु बैंक वित्त क्षेत्रबाट भएको छ । यसकै परिणाम स्वरुप नेपालमा धेरै ठूला प्रोजेक्टहरु सञ्चालन भइरहेका छन् । यसको श्रेय राजनीतिक स्थिरतालाई पनि दिनु पर्छ । राजनीतिक स्थिरता भएको खण्डमा आर्थिक बृद्धिले ठूलो फड्को मार्छ भन्ने उदाहरण यसै आर्थिक बर्षमा गरिएको प्रक्षेपणले पनि प्रष्ट पारेको छ । देशभित्र बिभिन्न परियोजनाको शुरुवात भएका छन् । कृषि, पर्यटन र जलविद्युत् जस्ता कुरालाई ठूलो मात्रामा अझ बृद्धि गर्दै लैजानु पर्छ । बिशेष गरेर कृषि, पर्यटन र हाइड्रोपावर यि ३ वटा क्षेत्रमा विकास गर्न सक्ने हो भने नेपालको अर्थतन्त्रले नयाँ उचाई लिनेछ भन्ने मैले बिस्वास लिएको छु । पछिल्लो समय जलविद्युत्मा धेरै ठूलो मात्रामा लगानी भइरहेको छ र विजुली उत्पादन पनि अघि बढीरहेको छ । । मुलुकमा औधोगिक क्षेत्रको पनि यसरी नै बृद्धि हुनुपर्छ । भूकम्प पछिको पुनः निर्माण गर्न धेरै जनशक्तिको आवस्यकता परिरहेको छ । यसले आगामी ५ बर्ष भित्रमा नेपालमा नै रोजगारीको प्रसस्त अवशर हुनेछ भन्ने देखाएको छ । यसका लागि बैंकहरु पनि तयार भएर बसेको अवस्था छ । तर, पछिल्लो केहि महिना देखि लगानी योग्य पूँजीको अभावका कारण बैंकहरुले बजारमा लगानी गर्न सकिरहेको छैनन् भन्ने सन्देश पनि केहि हद सम्म ठीकै हो । नयाँ आर्थिक बर्ष सँगै यो समस्या पनि समधान हुन्छ भनेर हामीले अनुमान गरेका छौँ । आगामी आर्थिक बर्षमा हामीले धेरै विकास भएको पाउने छौ ।
गाउँसम्म बैंक पुग्दैछन्
अहिले नेपालको ७५ वटै जिल्लामा बैंकिङ पहूँच पुगिसकेको छ । अब ति ७५ जिल्लाका पनि गाउँगाउँमा कसरी पुग्ने भन्ने प्लानहरु बनिरहेका छन् । प्रभु बैंकको मात्रै कुरा गर्ने हो भने पनि मुक्तिनाथसम्म शाखा खोलिसकेको अवस्था छ । अब चाडै नै उपल्लो मुस्ताङमा पनि हामी जाँदै छौं । हामीले नाफा भन्दा बढी सेवालाई ध्यान दिएर ग्रामिण क्षेत्रमा शाखा खोलिरहेका छौँ । अन्य बैंक वित्तीय संस्थाले पनि तयारी गरिरहनु भएको छ । यसले गाउँगाउँमा बैंकहरुको सहभागिता देखाउँछ ।
बैंकिङ पहूँच विस्ताका लागि आयोजना हुन लागेको बैंकिङ एक्स्पोले देशको अर्थतन्त्रलाई सहयोग गर्ने छ भन्ने हामीले अपेक्षा गरेका छौं । यस कार्यक्रममा सबैको साथ, सहयोग र सद्भाव पाउछौँ भन्ने मैले विस्वास लिएको छु । यो कार्यक्रम कुनै एउटा संस्था वा पक्षको नभएर सिंगो देशको कार्यक्रम हो । आर्थिक चेतना, आथिृक जागरण भनेकै विकासक्रमको सुरुवात हो । आजको आर्थिक चेतना र वित्तीय साक्षरताले भोलिका दिनमा आर्थिक विकासको लहर ल्याउँछ । यस कारण पनि यो बैंंकिङ एक्स्पोमा मानिसहरुको आकर्षण रहन्छ भन्ने मैले ठानेको छ । (बैंशाख १५, १६ र १७ गते आयोजना हुने बैंकिङ एक्स्पोको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैंकर्स संघका कार्यकारीणि सदस्य तथा प्रभु बेंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले दिएको मन्तव्यमा आधारित) ।


