अब एउटा व्यक्तिले एक एउटै बैंक तथा वित्तीय संस्थामा एकभन्दा बढी बचत खाता चलाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै एउटै बैंक तथा वित्तीय संस्थामा एउटै व्यक्तिको एकभन्दा बढी बचत खाता संचालनमा ल्याउन रोक लगाएको हो । यसअघि यस्तो खाता सञ्चालनमा भएमा पनि एउटा मात्र खाता कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
त्यस्तै, बैङ्क तथा वित्तीय संस्थाले ‘कल डिपोजिट’लाई सुरक्षित राख्न सर्वसाधारणको बचत खातामा ब्याजदर बढाउनुपर्ने भएको छ । कल खाता र बचत खाताको ब्याजदर समान बनाउन मौद्रिक नीतिको मध्यावधी समिक्षामा गरेको व्यवस्थामा बचतको सबैभन्दा न्यून ब्याजदर आउने खाता भनेर सम्झनुपर्ने राष्ट्र बैंकको निर्देशिकामा उल्लेख छ । बचत खातामा सबैभन्दा न्यूनतम ब्याजदर १ प्रतिशत रहेको छ । यसअघि सामान्य बचत खातामा बैङ्कहरूले १ प्रतिशतदेखि ४ तथा ५ प्रतिशतसम्म न्यून ब्याजदर दिँदै आएका थिए ।
राष्ट्र बैंकले ऋण लिदा बैंकहरुले लिने सेवा शुल्कमा समेत कडाई गरेको छ । बैंकले ऋण नदिएमा यसरी लिएको शुल्क सम्बन्धित व्यक्तिको खातामा फर्काउनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । बैङ्क तथा वित्तीय संस्थाले एकै प्रकारको कर्जा प्रवाह गर्दा विभिन्न ग्राहकसँग लिने प्रशासनिक सेवाशुल्क र प्रतिबद्धता शुल्क शून्य दशमलव २५ प्रतिशतभन्दा बढीले फरक पार्न नपाइने निर्देशन राष्ट्र बैंकले दिएको छ ।
बैङ्कहरूले ग्राहकले कर्जाका सीमाबाट उपयोग गरेको चालू पूँजी कर्जा सीमाको वार्षिक औसत रकम कर्जा सम्झौतापत्रमा उल्लेख भएको न्यूनतम औसत उपयोगभन्दा कम भएमा कम रकमको मात्र प्रतिबद्धता शुल्क लिन पाउने भएका छन् । यद्यपि, यसबारे सम्झौतापत्रमा स्पष्ट उल्लेख हुनुपर्ने र अग्रिमरुपमा शूल्क लिन नपाइने राष्ट्र बैंकको निर्देशन छ ।
त्यसैगरी, बैङ्कले सबै ऋणीलाई समान व्यवहार गर्नुपर्ने समेत निर्देशनमा उल्लेख छ ।



