हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
भारु सटही
अर्थमन्त्रालयले नेपाल राष्ट्र बैंकलाई पत्रचार गर्दै साढे चार हजार भारुका दरले नेपालमा रहेका प्रतिबन्धित पाँच सय र एक हजार दरको भारु साट्न निर्देशन दियो । केही दिनअघि नोट सटहीको व्यवस्था मिलाउन नेपाल आएको भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डियाका कार्यकारी निर्देशक दीपाली पन्त जोशीसहितको टोलीले नेपाल राष्ट्र बैंकसँग छलफल गर्दै साढे चार हजार भारुका दरले मात्रै सटही सुविधा दिने भनेको थियो । सोही अनुरुप, सरकाले नेपाल राष्ट्र बैंकले नोट सटही गर्न निर्देशन दिएको हो ।
साधारणसभा र पारित भएका प्रस्तावहरु
सेञ्चुरी बैंकको छैटौँ साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस सेयर दिने, इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने र ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गर्यो ।
कृषि विकास बैंकको साधारणसभाले गत आर्थिक वर्षको कमाईबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्यो ।
मञ्जुश्री फाइनान्सको सेयर लिलामी
मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडले आज (चैत्र २८ गते) देखि १० लाख चार हजार ९० कित्ता सेयर लिलामीमा निकाल्यो । मञ्जुश्री फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयरको लागि माघ ६ गते देखि फागुन ११ गतेसम्म हकप्रद सेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण सेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ नौ लाख ३५ हजार ७४ कित्ता र सर्वसाधारण समूह तर्फ ६९ हजार १६ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो । सेयरको न्यूनतम मूल्य प्रति सेयर एक सय रुपैयाँ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको सेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति २०७४ वैशाख ५ गते रहेको छ ।
अन्य
- इजी लिंक रेमिट्यान्सले जापानको प्रख्यात शहर ओसाकामा नयाँ सेवा केन्द्र विस्तार गर्यो ।
- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डलरको एक्सचेन्ज कम्पनी लिमिटेड (कुवेत) बिच रेमिट्यान्स सम्झौता भयो ।
- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मञ्जुश्री फाइनान्स लिमिटेडसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्यो ।
- टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले बुधबार आफ्नो कलंकी शाखाको औपचारिक उद्घाटन गर्यो ।
- बुम रेमिट्यान्स प्रालिले प्रोग्रेसिभ फाइनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियुक्त गर्यो ।




