कृषि विकास बैंक लिमिटेडका सेयरधनीले २० प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैंकको विहीबार (चैत्र ३१ गते) सम्पन्न दशौँ साधारणसभाले आर्थिक बर्ष २०७२।७३ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले हकप्रद साधारण सेयर विक्री पश्चात कायम भएको साधारण सेयर चुक्तापुँजी पाँच अर्ब ९० करोड ६४ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने एक अर्ब १८ करोड १२ लाख ८० हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि छ करोड २१ लाख ७२ हजार छ सय ३२ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
यसबाहेक, नेपाल सरकारको अग्राधिकार सेयरमा तोकिए वमोजिम छ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि साधारणसभाबाट स्वीकृत भएको छ । जस अनुसार २०७३ साल आसार मसान्तमा कायम रहेको नेपाल सरकारको अग्राधिकार सेयर छ अर्ब ४३ करोड ६८ लाख रुपैयाँको वार्षिक ६ प्रतिशतले हुने ३८ करोड ६२ लाख आठ हजार रुपैयाँ नगद लाभांश समेत वितरण गरिने भएको छ । यो निर्णयबाट मुलुकभरमा दुई लाख ३० हजार सेयरधनी लाभान्वित भएको बैंकले जनाएको छ ।
हाल बैंकको साधारण सेयर पुँजी पाँच अर्ब ९० करोड ६४ लाख रुपैयाँ र नेपाल सरकारको अविमोच्य अग्राधिकार सेयर पुँजी पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ गरी कुल पुँजी ११ अर्ब ३३ करोड ९१ लाख १२ हजार रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको साधारण चुक्तापुँजी सात अर्ब आठ करोड ७६ लाख ८० हजार रुपैयाँ पुग्नेछ भने कुल पुँजी १२ अर्ब ५२ करोड तीन लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।
उक्त साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष प्रमोदकुमार कार्कीले बैंकको आर्थिक वर्ष २०७२।७३ को वासलात, नाफा÷नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु (पूरक समेत) र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७३।७४ को फागुन मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।
बैंकमा २०७३ साल फाल्गुण मसान्तसम्ममा निक्षेप रकम ८८ अर्ब २९ करोड रुपैयाँ पुगेको छ भने लगानीमा रही रहेको कर्जा ९२ अर्ब ७३ करोड रुपैयाँ रहेको छ । बैंकले २०७३ साल फाल्गुन मसान्तसम्ममा एक अर्ब ७८ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा कुल कर्जामा निष्कृय कर्जाको अंश ४.३६ रहेकोमा सो मा उल्लेखनीय रुपमा कमी आई २०७३ फाल्गुन महिनामा कुल कर्जामा निष्कृय कर्जाको अंश ३.४१ प्रतिशत कायम रहेको छ ।
बैंकले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको बताएको छ । अत्यधिक प्रतिस्पर्धात्मक बजारमा समेत बैंक चालु आर्थिक बर्षमा कर्जा तथा सापट, कुल आम्दानी, खुद नाफा लगायतका अधिकांश सूचकांकहरुमा सन्तोषजनक अवस्थामा रहेको बैंकको दाबी छ ।




