हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
बीमा कम्पनीहरुको पुँजीवृद्धि योजना माग
बीमा समितिले बीमा कम्पनीहरुसँग पूँजी वृद्धि योजना माग गर्यो । पुँजीवृद्धिको योजना पेश गर्न कम्पनीहरुलाई समितिले तीन महिनाको समयसीमा दिएको छ । गत शुक्रबार समितिले बीमा कम्पनीहरुलाई चुक्तापुँजी चार गुणा वृद्धि गर्न निर्देशन दिएको छ । जीवन बीमा कम्पनीको चुक्तापुँजी दुई अर्ब र नीर्जिवन बीमा कम्पनीको चुक्तापुँजी एक अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरिएको हो । यसअघि जीवन बीमा कम्पनीको ५० करोड र नीर्जिवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने प्रावधान थियो । पुँजीवृद्धिका लागि बीमा कम्पनीहरुलाई ०७५ असार मसान्तसम्मको समयसीमा दिइएको छ ।
जनता र त्रिवेणीको एकीकृत कारोबार
जनता बैंक लिमिटेडले त्रिवेणी विकास बैंकलाई एक बराबर एकको स्वाप रेसियोमा गाभेर शुक्रबार (चैत्र २५ गते)देखि एकीकृत कारोबार सुरु गर्यो । मर्जरपछि जनता बैंकको चुक्तापुँजी चार अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुगेको छ । मर्जरपछि बनेको बैंकको नाम जनता बैंक नै रहेको छ ।
आधा दर्जन वित्तीय संस्थालाई एक्विजिसन स्वीकृति
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले अल्पाइन डेभलपमेन्ट बैंक, अरनिको डेभलपमेन्ट बैंक र सगरमाथा फाइनान्सलाई खरिद गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पायो । त्यस्तै, यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंक बीचको मर्जरलाई पनि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दियो ।
स्वदेशी लघुवित्तको आईपिओ
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सय रुपैयाँ अंकित दरमा तीन करोड रुपैयाँ बराबरको तीन लाख कित्ता साधारण सेयर निष्काशन शुक्रबार (चैत्र २५ गते) देखि सुरु गर्यो । निष्काशित कुल सेयरमध्ये १२ हजार कित्ता कर्मचारी र १५ हजार कित्ता म्चुअल फण्डका लागि छुट्याएको छ । बाँकी दुई लाख ७० हजार कित्ता सेयरका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सेयर आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता अर्थात् पाँच हजार रुपैयाँ र अधिकतम १५ सय कित्ता अर्थात् एक लाख ५० हजार रुपैयाँसम्मको आवेदन दिन सक्नेछन् । सेयर निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीको सेयरमा लगानीकर्ताले स्वेदशी लघुवित्तको केन्द्रीय कार्यालय सुनसरी, एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, एनएमबि बैंकका शाखा कार्यालय उपत्यकाभित्र सूर्य््विनायक भक्तपुर, तीनकुने, सीतापाईला काठमाडौं र थैव ललितपुर साथै उपत्यका बाहिर तीनदोबाटो बनेपा, गोल्छा चोक विराटनगर, आदर्शनगर वीरगञ्ज, अनारमनी वित्र्तामोड, ट्राफिक चोक बुटवल, नयाँ बजार दैलेख, बसपार्क रोड धनगढी, महेन्द्रपथ धरान, भानुचोक जनकपुर, नारायाणगढ चितवन, सुर्खेत रोड नेपालगञ्ज, न्यूरोड पोखरा, लम्की कैलाली, उर्लाबारी चोक उर्लाबारी, सल्लेरी सोलुखुम्बु, धुन्चे रसुवा र इटहरी सुनसरीबाट आवेदन दिन सकिनेछन् ।
वाचिम्ले जलविद्युत्को सेयर
भोजपुरको ट्याम्केमयुङ्ग गाउँपालिकामा रहेको वाचिम्ले लघु जलविद्युुत परियोजनाको सेयर खुला गरियो । वाचिम्ले खोलाबाट उत्पादन हुन लागेको लघु जलविद्युुत स्थानीयको मागअनुसार सेयर खुला गरिएको हो । सेयर लिन इच्छुकले न्यूनतम प्रतिकित्ता रू. एकसयको १० कित्तादेखि एक हजार सेयर कित्तासम्म लिन पाउने भएका छन् ।
सिटिजन्स बैंकको हकप्रद
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले २५ प्रतिशत हकप्रद सेयर निष्काशन सुरु गर्यो ।बैंकले गरेको हकप्रदमा गत फागुन २५ गतेसम्म कायम झन्डै ८० हजार सेयरधनीले आवेदन दिन पाउनेछन् । हकप्रद निष्काशन बैशाख २७ गतेसम्म खुला रहनेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको उक्त हकप्रदमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाटुलेघर र सिटिजन्स बैंक इन्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक
काठमाडौंको दरबारमार्गमा रहेको इन्भेष्टमेन्ट बैंकको एटीएम ह्याक गरी पैसा निकाल्दै गरेको अवस्थामा रसियन नागरिकलाई प्रहरीले पक्राउ गर्यो । एटीएम ह्याक गर्दैगर्दा रसियन नागरिक ३२ वर्षीय भोसिल एलेक्स सोस्नोभ पक्राउ परेका हुन् । प्रहरीले उनको साथबाट ५४ वटा एटिएम कार्ड बरामद गरेको छ। बरामद गरिएका कार्डमा प्रो इन्भेन्ट ९३२५ लेखिएको छ । सो सूचना लेखिएको कार्ड एटिएम बुथभित्र अड्कीएसँगै उनी पक्राउ परेका हुन् । सोस्नोभको साथबाट एक हजारका १ सय ३४ थान नोटसहित प्रहरीले १ लाख ४४ हजार ३ सय ५० रुपैयाँ र मोइबाल सेट बरामद गरेको छ ।
बैंकिङ मुभमेन्ट
जनरल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा महेश्वर पहारी नियुक्त भए । त्यस्तै, नेपाल बैंकर्स संघका अध्यक्ष समेत रहेका मेगा बैंकका सीईओ अनिल केशरी शाह नेपाल क्लियरिङ हाउस लिमिटेडको सञ्चालक पदमा निर्वाचित भए ।
गोर्खाज फाइनान्सको सेयर कारोबार
गोरखा विकास बैंक र काठमाडौँ फाइनान्स एक आपसमा गाभिएर बनेको गोर्खाज फाइनान्सको सेयर कारोबार आइतबार (चैत्र २० गते) देखि खुल्यो । GUFL सिम्बोलमा फाइनान्सको सेयर कारोबार सुरु भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जानकारी दिएको छ ।
सेयर लिलामी
सेवा विकास बैंकले बिहीबारदेखि सात लाख ५२ हजार एक सय ५१ कित्ता सेयर लिलामीमा निकाल्यो । यसै साताको मंगलबारदेखि काष्टमण्डप डेभलपमेन्ट बैंकले एक लाख सात हजार छ सय एक दशमलव २० कित्ता सेयर लिलामीमा बिक्री निकाल्यो । नमस्ते वित्तीय संस्था लिमिटेडले पनि झन्डै आठ हजार कित्ता सेयर लिलामीमा निकाल्यो ।
अन्य
- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यस वर्ष पनि सिटिजन्स बैंक ओपन गल्फ टुर्नामेन्ट २०१७ प्रायोजन गर्ने निर्णय गर्यो ।
- प्रभु बैंक लिमिटेड नेपालगञ्ज शाखा कार्यालयले आँखाशिविर सम्पन्न गर्यो ।
- अर्घाखाँची जिल्ला सन्धिखर्क स्थित प्रभु बैंक लिमिटेडको शाखा कार्यालयले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत श्रवण शक्ति कम भएका विद्यार्थीहरुलाई ओढ्ने ओछ्याउने कपडा तथा शैक्षिक सामाग्रीहरु वितरण गर्यो ।
- टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडेले इटहरी शाखाको औपचारिक रुपमा उद्घाटन गर्यो ।
- नेपाल ग्रामीण विकास बैंक लिमिटेडले थप नयाँ सेयर (एफपीओ) निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गर्यो ।
- नेपाल बैंक लिमिटेडले एनबिएल स्मार्ट कार्ड सञ्चालनमा ल्यायो ।




