अबको दुई साताभित्र पाँच वटा कम्पनीको हकप्रद सेयर निष्काशन खुला हुने भएको छ । तीन वटा वाणिज्य बैंक, एउटा विकास बैंक र एउटा बीमा कम्पनीले कुल सात अर्ब १३ करोड पाँच लाख ६० हजार छ सय ४१ रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् । हेरौँ, कुन कम्पनीको कति हकप्रद सेयर कहिलेदेखि निष्काशन हुँदैछ ?
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हकप्रद सेयर निष्काशन विहीबारदेखि खुला हुँदैछ । बैंकले २५ प्रतिशत अर्थात १० बराबर २.५को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले जारी गर्न लागेको हकप्रदमा गत फागुन २५ गतेसम्म कायम झन्डै ८० हजार सेयरधनीले आवेदन दिन पाउनेछन् ।
हकप्रद निष्काशन बैशाख २७ गतेसम्म खुला रहनेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । बैंकले जारी गर्न लागेको उक्त हकप्रदमा सानिमा क्यापिटल लिमिटेड नारायणचौर, सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड बाटुलेघर र सिटिजन्स बैंक इन्टरनेशनलको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
बैंकले एक सय रुपैयाँ अंकित दरमा एक अर्ब ३८ करोड ४३ लाख ३७ हजार नौ सय रुपैयाँ बराबरको एक करोड ३८ लाख ४३ हजार तीन सय ७९ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल सिटिजन्स बैंकको चुक्तापुँजी पाँच अर्ब ५३ करोड ७३ लाख ५१ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ९२ करोड रुपैयाँ पुग्नेछ ।
प्रभु इन्स्योरेन्स लिमिटेड
प्रभु इन्स्योरेन्स लिमिटेडको हकप्रद सेयर निष्काशन चैत ३० गतेदेखि सुरु हुने भएको छ । कम्पनीले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको हकप्रदमा चैत्र ५ गतेसम्म कायम सेयरधनीले जेठ २ गतेसम्म आवेदन दिन पाउनेछन् ।
प्रभुले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड २५ लाख सात हजार आठ सय ८१ रुपैयाँको बराबरको १९ लाख २५ हजार ७८ दशमलव ८१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरमा बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी तथा प्रभु बैंकका शाखा कार्यालयहरुबाट आवेदन दिन पाइने छ ।
३८ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत बर्षको कमाईबाट १७ प्रतिशत बोनस वितरण गरेको थियो । हकप्रद समेत निष्काशन गरेपछि प्रभुको चुक्ता पूँजी ५७ करोड ७७ लाख रुपैयाँ नाघ्नेछ । कम्पनीले धितोपत्र बोर्डबाट फागुन १२ गते हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
लक्ष्मी बैंक लिमिटेड
लक्ष्मी बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन वैशाख ३ गतेदेखि खुला हुने भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जेठ ७ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा चैत्र १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त हकप्रद खरिद गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, लक्ष्मी बैङ्क लिमिटेड हात्तीसार र काठमाडौंका शाखा कार्यालय हरु, लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, सिद्धार्थ क्यापिटल नारायणचौर , नक्सालबाट दरखास्त फाराम उपलब्ध हुने बैंकले जनाएको छ ।
लक्ष्मी बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ बराबरको तीन करोड १५ लाख ९० हजार तीन सय तीन कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ३१ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।
नेपाल बैंक लिमिटेड
नेपाल बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन बैशाख ७ गतेदेखि सुरु हुने भएको छ । बैंकले १००ः२३.७४ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जेठ १० गतेसम्म खुला रहने हकप्रदमा चैत्र २८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।
हकप्रद सेयर निष्काशनको लागि बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । बैंकले निष्काशन गर्न लागेको हकप्रद सेयरमा सभिल क्यापिटल मार्केट लिमिटेड सिटिसी महल सुन्धारा र बैंकको शाखा कार्यालयहरुबाट आवेदन दिन पाइनेछ ।
नेपाल बैंकले बैंकले ५६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम एक सय रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५४ करोड ३१ लाख ८४ हजार रुपैयाँ बराबरको एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हाल बैंकको चुक्ता पूँजी छ अर्ब ५० करोड रुपैयाँ रहेको छ । उक्त हकप्रद सेयर निष्काशन पश्चात बैंकको कूल चुक्ता पूँजी आठ अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।
सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेड
सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन वैशाख ७ गतेदेखि सुरु हुने भएको छ । जनता बैंकमा विलय हुने सम्झौता गरेको बैंकले ६० प्रतिशत अर्थात १० बराबर ६ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकको सत्रौं बार्षिक साधारणसभाले सेयरधनीलाई २४ प्रतिशत बोनसपछि कायम चुक्ता पुँजीको ६० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
सिद्धार्थले एक सय रुपैयाँ अंकित दरमा ८५ करोड १५ लाख पाँच सय ६० रुपैयाँ बराबरको ८५ लाख १५ हजार पाँच दशमलव ६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । उक्त हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नारायणचौर र सिद्धार्थ डेभलपमेण्ट बैंकको सबै शाखा कार्यालयहरुबाट दिन सकिन्छ ।
हाल सिद्धार्थ डेभलपमेन्ट बैंकको चुक्तापुँजी एक अर्ब ४१ करोड ९१ लाख रहेको रुपैयाँ छ । ६० प्रतिशत हकप्रद पश्चात बैंकको चुक्ता पुँजी दुई अर्ब २७ करोड नाघ्नेछ ।




