यतिबेला चार वटा बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गरिरहेका छन् । टुरिजम डेभलपमेन्ट बैंक, एनआईसी एसिया बैंक र नेरुडे लघुवित्तले एक लाख ८८ हजार कित्ताको हाराहारीमा हकप्रद सेयर निष्काशन गरिरहेका हुन् । हेरौँ, कुन संस्थाको हकप्रद सेयर भर्ने म्याद कहिलेसम्म छ ?
टुरिजम डेभलपमेन्ट बैंक
टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले चैत्र १३ गतेदेखि हकप्रद सेयर निष्काशन गरिरहेको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी वैशाख १७ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा माघ ५ गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
टुरिजमले एक सय रुपैयाँ अंकित मूल्यमा ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ बराबरको ९१ लाख ९७ हजार ७ सय १२ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयर निष्काशनका लागि बैंकले एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंकको हकप्रद खरिद गर्नका लागि नेपाल इन्भेष्टमेण्ट बैङ्क लिमिटेड, कुमारी बैङ्क लिमिटेड, सानिमा बैङ्क लिमिटेडबाट आवेदन बुझाउन सकिन्छ ।
हाल टुरिजम डेभलपमेन्ट बैंकको चुक्तापुँजी ९१ करोड ९७ लाख ७१ हजार दुई सय रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी एक अर्ब ८३ करोड ९५ लाख ४२ हजार चार सय रुपैयाँ पुग्नेछ ।
एनआईसी एसिया बैंक
एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन मंगलबार (चैत्र १५ गते) देखि सुरु भएको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले पाएको छ ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच सय रुपैयाँ बराबरको ८७ लाख २९ हजार ४ सय ७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । चैत्र ६ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । एनआइसी एशिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा विक्री प्रबन्धकको कार्यालयबाट हकप्रद खरिदका लागि आवेदन बुझाउन सकिनेछ ।
बैंकको २६ औँ वार्षिक साधारणसभाबाट पारित भएबमोजिम बोनस सेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको १५ प्रतिशत हकप्रद सेयर निष्काशन सुरु गरिएको हो । हकप्रद सेयर निष्काशन गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ७० करोड रुपैयाँ पुग्नेछ ।
नेरुडे लघुवित्त विकास बैंक
नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरमा नौ करोड रुपैयाँ बराबरको नौ लाख कित्ता हकप्रद सेयर सोमबार (चैत्र १४ गते) देखि निष्काशन गरेको हो ।
वैशाख १७ गतेसम्म निष्काशन खुला रहने कम्पनीको हकप्रद सेयरको निष्काशन तथा विक्री प्रबन्धकको जिम्मा एनसिएम मर्चेण्ट बैंकिङ लिमिटेडले पाएको छ । नेरुडे लघुवित्तको केन्द्रीय कार्यालय विराटनगर, मोरङ र एनसिएम मर्चेण्ट बैङ्किङ लिमिटेड कमलपोखरीबाट उक्त हकप्रद सेयरका लागि आवेदन दिन पाइनेछ ।
हाल नेरुडे लघुवित्तको चुक्तापुँजी १८ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि लघुवित्तको चुक्तापुँजी २७ करोड रुपैयाँ पुग्नेछ ।




