प्रतिबन्धित भारु नोट सटहीका लागि व्यवस्था मिलाउन नेपाल आएको भारतीय प्रतिनिधि मण्डल भारत फर्किएको छ । सटही व्यवस्था मिलाउन भन्दै शनिबार रिजर्भ बैङ्क अफ इण्डिया(आरबिआई)का कार्यकारी निर्देशक दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको तीन सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डल सोमबार फर्किएको हो ।
नेपालमा रहँदा टोलीले नेपाल राष्ट्र बैंकका अधिकारीहरुसँग छलफल गर्दै तत्काल एक हप्ताभित्रमा प्रतिव्यक्ति साढे चार हजार रुपैयाँ साटिदिने बताएको थियो । त्यसबाहेक पनि नेपालमा नागरीकहरुसँग रहेको भारु पनि बैङ्कमार्फत नै साटिने बताएको थियो । यता, नेपाली प्रतिनिधि मण्डलले भारतले नेपाललाई सन् २०१५मा पठाएको पत्रमा उल्लेख गरिएको प्रतिव्यक्ति २५ हजार भारु राख्न पाउने सुविधा दिएको भन्दै सोही दरको रकम साटिदिनुपर्ने माग गरेको थियो । भारतले प्रतिव्यक्ति साढे चार हजार रुपैयाँमात्रै साट्ने अडान लिएपछि नेपाली पक्षले छलफललाई नै निरन्तरता दिने भन्दै भारतीय पक्षको प्रस्ताव अस्वीकार गरेको जनाएको छ । यो विषयलाई कुनै निष्कर्षमा नपुर्याई भारतीय टोली फर्किएको छ ।


