हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
बैंकहरुलाई राष्ट्र बैंकको पाँचबुँदे निर्देशन
आइतबार पाँच बुँदे निर्देशनसहितको परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले बारम्बार व्याजदर वृद्धि नगर्न÷नगराउन बैंकहरुलाई निर्देशन दियो । राष्ट्र बैंकले कर्जा दिने समयमा नै कर्जावालाको सम्पत्तिको सही मूल्यांकन हुने वातावरणको सुनिश्चितता कायम गर्न, धितोको लिलामी बिक्री वा सकार गर्दा प्रचलित बजार मूल्य अनुसार नै गर्न र, ऋणीका परिवार वा सरोकारवालाको सामाजिक प्रतिष्ठामा प्रतिकुल नपार्ने वातावरण मिलाउदै न्यायोचित तरिकाले कर्जा असुलको प्रक्रिया थाल्न समेत बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
कुमारी बैंकले चार वित्तीय संस्था गाभ्ने
एनसीसी बैंकसँगको मर्जर भाँडिएपछि आफैँ आठ अर्ब चुक्तापुँजी पुर्याउन कम्मर कसेको कुमारी बैंक लिमिटेडले काष्ठमण्डप डेभलमेन्ट बैंक लिमिटेड, पश्चिमाञ्चल फाइनान्स लिमिटेड, महाकाली विकास बैंक लिमिटेड र काँक्रेविहार विकास बैंक लिमिटेडलाई खरिद गर्ने प्रक्रिया अघि बढाउने प्रस्ताव १६औँ साधारणसभाबाट पारित गर्यो । सोही साधारणसभाले आफ्ना सेयरधनीलाई २१ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्यो । बैंकले ४ विकास बैंक प्राप्तिसम्बन्धी कार्य समाप्त भई एकीकृत कारोबार भएपश्चात् कायम हुने चुक्ता पुँजीमा थप एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । उक्त एक्विजिसन, बोनस सेयर र हकप्रद सेयरपछि कुमारीको चुक्तापुँजी आठ अर्ब नजिक पुग्नेछ । चालू आर्थिक वर्षमा हुने कमाईबाट बोनस सेयर जारी गरेर बैंकले आठ अर्ब रुपैयाँभन्दा बढी चुक्तापुँजी पुर्याउने बताएको छ ।
एक भए सेन्ट्रल र भक्तपूर फाइनान्स
सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेड एकआपसमा गाभिएर विहीबारदेखि सेन्ट्रल फाइनान्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरे । दुई संस्था गाभिएपछि बनेको संस्थाको चुक्ता पूँजी ५२ करोड ६ लाख ६३ हजार रुपैयाँ भएको छ । संस्थाको निक्षेप २ अर्ब ३६ करोड ७१ लाख र कर्जा लगानी २ अर्ब २३ करोड ९६ लाख पुगेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी ८० करोड मर्जरपछि हकप्रद र बोनस सेयर जारी गरेर पुर्याउने जनाएको छ । मर्जरपछि फाइनानसको निक्षेप दुई अर्ब ६४ करोड रुपैयाँ र ऋण लगानी दुई अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । शाखा चाहबिल, नारायणघाट, बुटवल र भक्तपुरमा छ भने केन्द्रीय कार्यालय ललितपूरमा रहेको छ ।
देवः र युनियनबीच एक्विजिसन सम्झौता
देवः विकास बैंक लिमिटेड र युनियन फाइनान्स लिमिटेडबीच एक्विजिसन सम्झौता भयो । एक्विजिसनपछि बन्ने संस्थाको नाम देवः विकास बैंक नै रहने छ भने प्रमुख कार्यकारी अधिकृत पनि देवः विकास बैंकबाटै रहनेछन् । ५० प्रतिशत हकप्रद सेयर र गत आर्थिक वर्षको कमाईबाट १४ प्रतिशत बोनस सेयर वितरण गरेर देवः विकास बैंकले एक अर्ब ४४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । युनियन फाइनान्सलाई एक्वायर गरेपछि देवःको चुक्तापुँजी एक अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । २०७४ असारमसान्तभित्र दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनका लागि दुवै संस्था मिलेर आवश्यक पहल गर्ने भएका छन् । अपुग पूँजी पुर्याउन अर्को संस्थालाई गाभ्ने रणनीति बैंकले लिएको छ ।
तीन ब्रोकरलाई शाखा विस्तार गर्ने अनुमति
नेपाल स्टक एक्सचेञ्ज नेप्सेले तीन सेयर ब्रोकर कम्पनीलाई तत्काल विस्तारित शाखा संचालनमा ल्याउन अनुमति दियो । नेप्सेले सनि सेक्युरिटिज प्रा.लि., भिजन सेक्युरिटिज प्रा.लि.र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई विस्तारित शाखा संचालनमा ल्याउन बुधबार (चैत्र ९ गते) अनुमति दिएको हो । शाखा संचालन गरेर लगानीकर्तालाई सेवा उपलब्ध गराउन कारोबार लिंक समेत उपलब्ध गराइसकेको नेप्सेले जनाएको छ । यी ब्रोकरले आवेदनअनुसार, क्रमशः नारायणगढ, बनेपा र विर्तामोडमा शाखा कार्यालय संचालन गर्न अनुमति पाएका हुन् ।
कमोडिटी मार्केटसम्बन्धी विधेयक पारित
व्यवस्थापिका–संसद्ले ‘वस्तु विनिमय बजार सम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गर्यो । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त विधेयकमाथि सांसद रेवतीरमण भण्डारी, प्रेम सुवाल र भरतकुमार शाहले धारणा राखेका थिए । सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै अर्थमन्त्री महराले वस्तु बजारलाई सही मूल्य निर्धारण गर्ने, मूल्य जोखिम कम गर्ने, महँगी नियन्त्रण गर्ने लक्ष्यका आधारमा विधेयक ल्याइएको बताए । करको दायरामा विस्तार, रोजगारीको बढोत्तरी, अनुगमन तथा अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न नयाँ विधेयकले काम गर्ने जानकारी दिँदै उनलेआर्थिक अनियमितता र ठगी नियन्त्रण गर्न सकिने तथा सीमित व्यक्तिले बजार नियनत्रण गर्ने अवस्थाको समेत अन्त्य यसबाट हुने उल्लेख गरे ।
विश्वका धनाढ्यहरुको नयाँ सूचि सार्वजनिक
अमेरिकाको चर्चित म्यागाजिन फोब्र्सले २०१७ का अर्वपतिहरुको सूचि सार्वजनिक गर्यो । नेपालका उद्योगी विनोद चौधरी गत वर्षभन्दा १० स्थान माथि उक्लिँदै उक्त सूचिमा १५६७औँ स्थानमा परेका छन् । फोक्र्सका अनुसार, चौधरीसँग १.३ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । उनको सम्पत्ति गत वर्षको तुलनामा बढेको हो । गत वर्ष उनको सम्पत्ति १.१ अर्ब अमेरिकी डलर रहेको थियो । यो वर्ष पनि संसारकै अर्बपतिहरुको सूचिको पहिलो नम्बरमा माइक्रोसफ्टका मालिक बील गेट्स नै परेका छन् । फोब्र्सका अनुसार उनीसँग ८६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ । त्यस्तै, सूचीको दोस्रो स्थानमा अमेरिकी उद्योगी वोरेन बफेट र तेस्रो नम्बरमा अमेजोन कम्पनीका मालिक जेफ बेजोस छन् । उनीहरुको सम्पत्ति क्रमशः ७५.६ अर्ब र ७२.८ अर्ब अमेरिकी डलर रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो सूचिको ५४४औँ स्थानमा छन् । उनी गत वर्षको तुलनामा २२० स्थान तल झरेका हुन् । फोब्र्सको सूचिको सोही स्थानमा विश्वका अन्य १० अर्वपति समेत परेका छन् । हाल ट्रम्पसँग ३.५ विलियन अमेरिकी डलर बराबर सम्पत्ति रहेको छ ।
तीन कम्पनीलाई आईपिओ निष्काशनको अनुमति
नेपाल धितोपत्र बोर्डले यो साता तीन वटा कम्पनीलाई साधारण सेयर निष्काशनको अनुमति दियो । बोर्डले स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई चैत्र ७ गते, माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई चैत्र ४ गते र राधी जलविद्युत् कम्पनी लिमिटेडलाई चैत्र ३ गते आईपिओ निष्काशन गर्नका लागि अनुमति दिएको हो । स्वदेशी लघुवित्तले तीन लाख कित्ता सेयर निष्काशन गर्नेछ । लघुवित्तको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । माहुली लघुवित्तले चार लाख कित्ता सेयर निष्काशन गर्नेछ । सेयर निष्काशनका लागि लघुवित्तले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ । त्यस्तै, राधी विद्युत कम्पनीले आयोजना प्रभावित लमजुङ बासीका लागि चार लाख १० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको छ । सेयर निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । बोर्डबाट सेयर जारी गर्ने अनुमति पाइसकेका यी कम्पनीले छिटै नै सेयर निष्काशन सुरु गर्नेछन् ।
कुमारी बैंकको हकप्रद खुला
कुमारी बैंक लिमिटेडले आइतबारदेखि ५० प्रतिशत अर्थात दुई बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गर्यो । उक्त हकप्रदमा फागुन १९ गतेसम्म कायम सेयरधनीले चैत्र ६ गतेदेखि बैशाख १० गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नक्सालको नारायणचौरस्थित विक्री प्रबन्धकको कार्यालय र कुमारी बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रद भर्न पाइने बताइएको छ । बैंकले एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशन गरेको हो ।
डिप्रोक्स लघुवित्तको हकप्रद सेयर खुला
डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आज (चैत्र ७ गते, सोमबार)देखि खुला भएको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको हो । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीको हकप्रद सेयर नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्स लघुवित्तका सबै शाखाहरुबाट भर्न सकिने छ । हकप्रदमा वैशाख १० गतेसम्म आवेदन दिने सक्ने बताइएको छ । बैंकले जारी गर्न लागेको हकप्रद सेयरलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । यसले बैंकको आधारभूत पक्ष औसतभन्दा कमजोर रहेको संकेत गर्दछ । बैंकले एक सय रुपैयाँ अंकित दरमा २५ करोड ७९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ५१ करोड ५८ लाख पुग्ने बैंकले जनाएको छ ।
अन्य
- शतप्रतिशत हकप्रद निष्काशनका लागि लक्ष्मी बैंकले चैत्र १९ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गर्यो ।
- हिमालयन बैंक लिमिटेडले बिहीबारदेखि एक लाख ४५ हजार पाँच सय ६० कित्ता सेयर लिलामीमा निकाल्यो ।
- १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको सानिमा बैंकले चैत्र १८ गतेदेखि सेयरधनी पुस्तिका बन्द गर्ने निर्णय गर्यो ।
- सगरमाथा फाइनान्स लिमिटेडले पाँच लाख ६६ हजार दुई सय ७८ दशमलव ८३ कित्ता हकप्रद सेयर सोमबार (चैत्र ७ गते) देखि लिलामीमा निकाल्यो ।
- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले विद्योदय मा.बि., सरस्वती निम्न मा.वि. र राम अमर शहिद पुस्तकालयलाई ४ थान कम्युटर र १ थान ल्यापटप सहयोग गर्यो ।
- टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले बुधबार बैंकको मुख्य शाखा, ठमेलमा रक्तदान कार्यक्रमको आयोजना गर्यो ।
- बुम रेमिट्यान्स प्रा लि, कालिमाटी सोल्टिमोड काठमाडौँले काष्ठमण्डप डेभलपमेन्ट बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गर्यो ।
- नेपाल क्लियरिङ हाउस लिमिटेड र कन्काई विकास बैंक लिमिटेडबीच अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता भयो ।
- ग्लोबल आइएमई बैंकले विगतका बर्षहरुमा जस्तै इपिएस कोरियन भाषा परीक्षाको परीक्षा शुल्क संकलन सेवा प्रदान गर्यो ।
- टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तारको क्रममा नवलपरासीको रजहर, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरबाट शाखाहरुको औपचारीक उद्घाटन गर्यो ।
- टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले धुर्मुस सुन्तली फाउण्डेशनलाई पाँच लाख रुपैँया आर्थिक सहयोग प्रदान गर्यो ।




