यतिबेला चार वटा बैंकले हकप्रद सेयर निष्काशन गरिहेका छन् । कैलाश विकास बैंक, भार्गव विकास बैंक, मिसन डेभलपमेन्ट बैंक र कुमारी बैंकले कुल एक अर्ब ९८ करोड पाँच लाख ७५ हजार चार सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गरिरहेका हुन् ।
कुन बैंकको हकप्रद कहिलेसम्म ?
कैलाश विकास बैंक लिमिटेडले २० प्रतिशत अर्थात पाँच बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकको हकप्रद सेयरमा पुस १३ गतेसम्म कायम लगानीकर्ताले फागुन ६ गतेदेखि चैत १० गतेसम्म आवेदन दिन सक्ने छन् । बैंकले हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । विक्री प्रबन्धकको कार्यालय र कैलाश विकास बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न पाइने बताइएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३१ करोड ६० लाख ६७ हजार दुई सय रुपैयाँ बराबरको ३१ लाख ६० हजार छ सय ७२ कित्ता सेयर निष्काशन गरेको हो । उक्त हकप्रद वितरणपश्चात बैंकको चुक्तापूँजी एक अर्ब ९० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।
त्यस्तै, भार्गव विकास बैंकले फागुन २४ गतेदेखि निष्काशन गरिरहेको हकप्रद सेयर भर्ने म्याद यही चैत्र २८ गतेसम्म रहेको छ । बैंकले सर्वसाधारण सेयरधनीका लागि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । फागुन ११ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर भर्न पाउनेछन् । बैंकको सेयर र निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, भार्गव विकास बैङ्क सुर्खेतरोड, नेपालगञ्ज तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट र एनएमबि बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । उक्त हकप्रद जारी गरेपछि बैंकको चुक्तापूँजी २४ करोड रुपैयाँ पुग्नेछ ।
यता, चैत्र ३ गतेदेखि मिसन डेभलपमेन्ट बैंकले निष्काशन गरिरहेको हकप्रद सेयर भर्ने म्याद बैशाख ६ गतेसम्म रहेको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयरका लागि भिबोर क्यापिटल र मिसन डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १९ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरको १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । उक्त हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी ३८ करोड ९८ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।
त्यसैगरी, चैत्र ६ गतेदेखि कुमारी बैंक लिमिटेडले ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन सुरु गरेको हो । उक्त हकप्रदमा फागुन १९ गतेसम्म कायम सेयरधनीले बैशाख १० गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । नक्सालको नारायणचौरस्थित विक्री प्रबन्धकको कार्यालय र कुमारी बैंकका सम्पूर्ण शाखाहरुबाट हकप्रद भर्न पाइने बताइएको छ । बैंकले एक सय रुपैंया अंकित दरमा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतले हुने एक अर्ब ३४ करोड ९५ लाख ८३ हजार दुई सय रुपैयाँ बराबरको एक करोड ३४ लाख ९५ हजार आठ सय ३२ कित्ता हकप्रद निष्काशन गरेको हो । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्बको हाराहारीमा पुग्नेछ ।



