२०७३ चैत्र ४ गते

माहुली लघुवित्तको चार लाख कित्ता आईपिओ आउँदै, धितोपत्र बोर्डले दियो अनुमति

माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चार लाख कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई सेयर निष्काशनको अनुमति प्रदान गरेको छ । माहुलीले विहीबार (चैत्र ३ गते) सेयर निष्काशन गर्न अनुमति पाएको हो । 

माहुली लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यमा चार करोड रुपैयाँ बराबरको चार लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । सेयर निष्काशनका लागि लघुवित्तले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ । 

उक्त सेयर निष्काशनपछि सर्वसाधारणमा कम्पनीको ३० प्रतिशत सेयर कायम हुनेछ । गैरसरकारी संस्थाबाट सञ्चालनमा आएको कम्पनीको सेयरमा गैरसरकारी संस्थाको २५ प्रतिशत, एनआईसी बैंकको ५ प्रतिशत, सिर्जना फाइनान्सको ४ दशमलव ०१ प्रतिशत र ३५ दशमलव ९९ प्रतिशत सेयर स्वामित्व व्यक्तिगत संस्थागत सेयरधनीको रहने गरी सेयर जारी गर्न लागिएको हो । 

२०७० जेष्ठ ३० गतेबाट सञ्चालनमा आएको यो कम्पनी नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त संस्था हो । सप्तरीको बकधुवा ९ महुलीमा रहेको यो कम्पनीले सप्तरी, सिरहा, उदयपुर, सुनसरी, खोटाङ्ग, भोजपुर, ओखलढुङ्गा, सिन्धुली, धनकुटा र रामेछाप गरी १० जिल्लाको कार्यक्षेत्रमा २८ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । कम्पनीको अध्यक्षमा प्रभु नारायाण चौधरी रहेका छन्, भने प्रमुख कार्यकारी अधिकृतमा श्यामकान्त चौधरी रहेका छन् ।