भोकमरीका कारण दक्षिण सुडान र सोमालियासहित चार मुलुकका जनता मृत्युको संघारमा पुगेका छन् । केन्या, यमन, दक्षिण सुडान र सोमालियाका दुई करोड मानिस भोकमरी र अकाल मृत्युको शिकार भएका हुन् । संयुक्त राष्ट्रसंघका मानवीय क्षेत्रका प्रमुख स्टेफेन ओ ब्राइनले भोकमरीमा परेका यी मानिसलाई उद्धार आवश्यक भएको भन्दै सहयोगको अपिल गरेका छन् ।
संयुक्त राष्ट्र संघका अनुसार, सोमालियामा ६० लाखभन्दा बढी अर्थात मुलुककै आधा जनसंख्या खाद्यान्न तथा पानीको संकट झेलिरहेका छन् । खडेरी, अकाल मृत्यु र आतंकवादी समूह एल सबाबका कारण यो मुलुक संकटको अवस्थामा रहँदै आएको छ । अल सबाबले सडकमा गर्दै आएको अवरोधका कारण एकातिर खाद्यान्न सहयोग पुग्न सकिरहेको छैन भने पुगेको खाद्यान्न पनि सबाबले चोरी गर्दै आएको छ । गत साता सोमालियाका प्रधानमन्त्री हसन अली खेरले भोकमरी र खडेरीसम्बन्धी रोगबाट १ सय १० को ज्यान गएको बताएका थिए ।
सोमालियाकै छिमेकी मुलुक केन्यामा पनि यस्तै अवस्था छ । त्यहाँका २७ लाख जनता भोकमरी झेल्दै आएका छन् भने यो संख्या झन्झन् बढ्दै गएको छ । आगामी महिनासम्ममा भोकमरीमा पर्ने केन्यालीको संख्या ४० लाख पुग्न सक्ने राष्ट्रसंघले जनाएको छ । केन्या सरकारसँगको सहकार्यमा राष्ट्रसंघले चाँडै २० करोड सहयोग गर्न अपिल गरेको छ । संयुक्त राष्ट्र संघ मानवीय मामिला संकटकाल व्यवस्थापन शाखा प्रमुखले केन्या खडेरीबाट आक्रान्त बनेको र यसबाट करिब २७ लाख मानिसमा खाद्यान्न र पिउने पानीसमेतको संकट आएको भन्दै विश्व समुदायलाई सहयोगका लागि आग्रह गरेका छन् ।
यता, हालै मात्र अकाल मृत्युको घोषणा गरिएको दक्षिण सुडानमा पनि ७५ लाख व्यक्तिलाई भोकमरीबाट बच्न सहयोगको आवश्यकता देखिएको छ । यीमध्ये आधा मानिस त विस्थापित नै भइसकेका छन् । उता, यमनमा पनि ७० लाख जनता खाद्यान्न संकटको दर्दनाक अवस्थासँग जुझिरहेका छन् ।
यी अफ्रिकी मुलुकमा लगातार खडेरीले प्रभावित तुल्याएको यो तेस्रो वर्ष हो । सन् २०१६ मा केन्या, सोमालिया इथियोपिया जस्ता मुलुकका केही ग्रामीण बस्तीमा डेङ्गु, झाडा पखाला, हैजा र दादुरालगायतका रोगको प्रकोपसमेत बढेको र यसबाट सयौँ मानिसले ज्यान गुमाएका थिए ।
लगातार भइरहने युद्धका कारण सुडान लगायत यी अफ्रिकी मुलुक आर्थिक हिसाबले कहिल्यै पनि स्थिर बन्न सकेको छैन । भोकमरीका कारण एउटा मान्छेले नै अर्को मान्छे खानेसम्मको स्थिती यहाँ देखा पर्ने गरेको छ । त्यसमाथि, पछिल्लो समय देखिएको खडेरीका कारण खाद्यान्नका साथसाथै पानीको समेत समस्या हुन थालेपछि मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन् । यी मुलुकलाई भोकमरीको यो पिडादायी स्थितीबाट बचाउन संयुक्त राष्ट्र संघले विश्व समुदायसँग सहयोगको अपिल गरेको छ ।




