बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको २२ औँ वार्षिक साधारणसभाले संस्थापकको तर्फबाट थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने निर्णय गरेको छ । बैंकले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६२ लाख आठ हजार एक सय ३२ कित्ता एफपिओ निष्काशन गर्ने निर्णय गरेको हो । संस्थापकको तर्फबाट एफपिओ जारी गर्न लागिएको यो नेपालमै पहिलो पटक हो । हाल यो बैंकका संस्थापक र साधारण सेयरको अनुपात ४४ः५६ प्रतिशत रहेको छ ।
सो साधारणसभाले बैंकको नाम परिवर्तन गरिने बैंक अफ काठमाण्डू राख्ने निर्णय समेत गरेको छ । लुम्बिनी बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मिलेर बैंक अफ काठमाण्डू लुम्बिनी बनेको थियो । नेपाल राष्ट्र बैंकलाई स्वीकार्य हुने नाम परिवर्तन गर्नुपर्ने भन्दै बैंकले पुरानै नाम बैंक अफ काठमाण्डू बनाउने निर्णय गरेको जनाएको छ ।
उक्त साधारणसभाले गत आर्थिक वर्षको कमाइबाट २३ प्रतिशत अर्थात एक अर्ब पाँच करोड २६ लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने निर्णय पनि पारित गरेको छ ।
