केही बैंकले स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) तोडेपछि नेपाल राष्ट्र बैंकले त्यस्ता बैंकमाथि कडाई गर्ने भएको छ । अबदेखि उसले सीसीडी रेसियोको नियमित रुपमा अनुगमन गरी निर्देशन उल्लंघन गर्ने बैंकमाथि कडाई गर्ने भएको हो । आगामी वैशाख १ गतेदेखि बैंक तथा वित्तीय संस्थाको नियमित रुपमा सीसीडी रेसियोको अनुगमन गरि निगरानी गरिने केन्द्रीय बैंकले जानकारी दिएको छ ।
सीसीडी रेसियो तोड्ने बैंकलाई बढी प्रवाहित कर्जा रकममा बैंक दरले हुन आउने बराबर रकम हर्जना लगाइने राष्ट्र बैंकले जनाएको छ । बैंकले कुल निक्षेपको ८० प्रतिशत मात्र कर्जा लगानी गर्न पाइने व्यवस्था छ । ऋण लगानी गर्न चाहिने पुँजी नभएपछि आधा दर्जन बढी बैंकले सीसीडी रेसियो तोडेपछि केन्द्रीय बैंकले निगरानीको नीति लिएको बताइएको छ ।



