Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यस्ता छन्, यो साताका उत्कृट बैंकिङ खबरहरु

२०७३ फाल्गुन २७ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

भार्गव विकास बैंकको हकप्रद खुला
भार्गव विकास बैंकले सर्वसाधारण सेयरधनीका लागि मंगलबार (फागुन २४ गते) देखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन खुला गर्यो । चैत्र २८ गतेसम्म निष्काशन खुला रहेको बैंकको हकप्रद सेयरमा फागुन ११ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता हकप्रद सेयर जारी गर्नेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । हकप्रद सेयर खरीदका लागि कम्पनीको सेयर र निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, भार्गव विकास बैङ्क सुर्खेतरोड, नेपालगञ्ज तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट र एनएमबि बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

एनएमबी माइक्रोफाइनान्स र सक्षम मिलेर वित्तीय पहुँच बढाउँदै
एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र युके एड सक्षम एक्सेस टु फाइनान्स बिच दुर्गम जिल्लाका सदस्यहरुलाई वित्तीय पहँुच पुर्याउने उद्धेश्यले एक आपसमा सहकार्य गरी अगाडी वढ्ने सहमती भयो । समझदारी बमोजिम एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले आगामी दुई वर्ष्भित्र ५ वटा जिल्लामा शाखा तथा उपशाखाहरु खोली सात हजार पाँच सय २९ घरपरिवारलाई आयआर्जन गर्नका लागि ऋण प्रदान गर्नेछ । सो ऋणबाट महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउने कार्यमा जोड दिइने बताइएको छ ।

सिभिलले हामा र युनिक फाइनान्स किन्ने
सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा आईतबार अन्तिम सम्झौता भयो । प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ । प्राप्तिपछि सिभिल बैंक लिमिटेडको चुक्तापुँजी पाँच अर्ब पाँच करोड रुपैयाँ पुग्ने छ । उक्त दुवै संस्थाको प्राप्ति र आ.व.२०७२।७३को मुनाफाबाट बोनस सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्तापुँजीको २०५ हकप्रद सेयर जारी गर्ने योजना बैंकको छ । राष्ट्र बैंकको मौद्रिक नीति तथा परिपत्र बमोजिम २०७४ असार मसान्तभित्र न्यूनतम चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुर्याउन बैंकले अन्य कुनै संस्थासँग एक्विजिसन वा मर्जरमा जाने योजना बनाएको छ । एक्विजिसनपछि बन्ने बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । यी तीन संस्थाहरुले हालसम्ममा ३३ अर्ब ६३ करोड निक्षेप संकलन गरी ३१ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् ।

१२ अर्बको ट्रेजरी बिल विक्री
नेपाल राष्ट्र बैंकले सोमबार १२ अर्ब १५ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्यो । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब १३ करोड रुपैयाँको, १८२ दिने अवधिको पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँको र ३६४ दिने अवधिको चार अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरेको हो । ९१ दिने अवधिको ट्रेजरी बिल आगामी जेठ २३ गते, १८२ दिने अवधिको भदौ २७ गते  र ३६४ दिने अवधिको आगामी फागुन २४ गते परिपक्व हुनेछ । 

अन्य, 

  • मुक्तिनाथ विकास बैंक लिमिटेडले नवलपरासीको भुमही, पर्साको वीरगञ्ज, ओखलढुङ्गाको सिद्धिचरण र रामपुर गरी ४ वटा शाखा कार्यालयहरु स्थापना गरी सञ्चालनमा ल्यायो ।
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले आफ्नो आठौँ शाखा बारा जिल्लाको जीतपूरमा स्थापना गरी सञ्चालनमा ल्यायो ।
  • सानिमा बैंक लिमिटेडले यूके एडद्धारा प्रवद्र्धित सक्षम परियोजना (एक्सेस टु फाइनान्स)को सहकार्यमा रसुवाको टिमुरेमा आफ्नो ४५औँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्यायो ।
  • लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता भयो ।
  • ओम डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौँको कलंकीमा शाखा विस्तार गर्यो ।
  • सगरमाथा फाइनान्स लिमिटेडले ३२.९४ प्रतिशत बोनस सेयर वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्रायो ।
  • एनआईसी एसिया बैंक लिमिटेडले १५ प्रतिशत हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पायो । 
  • प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राख्दै मंगलबारदेखि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्यायो ।