फरवार्ड कम्युनिटीको सेयर बाँडफाँडमा भएको त्रुटीबारे छानबिन सुरु
२०७३ फाल्गुन २६ गते
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्कासन गरेको साधारण शेयर बाँडफाँटमा अनियमितता भएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ । एउटै आवेदन नम्बरबाट धेरै फाराम सङ्कलन गरी बाँडफाँट प्रक्रियामा अनियमितता गरिएको भन्दै साना लगानीकर्ताहरूले उजुरीमार्फत बोर्डसमक्ष आग्रह गरेपछि बोर्डले अनुसन्धान थालेको छ । यस विषयमा बोर्डले आईपीओ निष्काशन तथा विक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट बैंकिङसँग कुराकानी गरेको बताइएको छ ।
सञ्जय भण्डारीफरवार्ड कम्युनिटीको सेयरमा एउटै आवेदन नम्बर भएका कतिपय शेयरधनीले एकजनालाई परेको सेयर आफूले पनि पाउनुपर्ने दाबी गर्दै लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यशोदा न्यौपानेले धितोपत्र बोर्डमा र सेयर रजिष्टार नविल इन्भेष्टमेण्ट बैङ्क लिमिटेडमा निवेदन दिएका थिए । आवेदक भण्डारीले फरवार्ड कम्युनिटीको सेयरमा आफूले आफ्ना भाउजूहरू लक्ष्मी भट्टराई र यशोदा न्यौपानेका साथै आफ्नो नाममा आवेदन गरेकोमा तीनओटै आवेदन नम्बरमा अर्कै व्यक्तिलाई सेयर परेको देखिएको बताए । यस सम्बन्धमा समाचारहरु सार्वजनिक भएपछि नबिल इन्भेष्टमेण्ट बैंकिङले आवेदन नम्बरमा आधारित नतिजा लुकाएर हितग्राही खाताका आधारमा मात्र नतिजा हेर्ने व्यवस्था मिलाएबाट सेयर बाँडफाँडमा गम्भीर त्रुटी भएको दाबी समेत गरेका छन् । उनले सामान्य लगानीकर्ता यस्ता किसिमका समस्या पर्दा चुप लागेर बस्ने गरेको भन्दै कुनै पनि किसिमको समस्या आएको खण्डमा धितोपत्र बोर्डलाई जानकारी गराउन आग्रह पनि गरेका छन् ।
फरवार्ड कम्युनिटीको सेयरमा १७०५७ नम्बरको आवेदनबाट लक्ष्मी भट्टराई, १७०५८ नम्बरको आवेदनबाट सञ्जय भण्डारी र १७०५९ नम्बरको आवेदनबाट यशोदा न्यौपानेले सेयर आवेदन गरेका थिए । नबिल इन्भेष्टमेण्ट बैङ्किङले आफ्नो वेबसाइटमा पहिलो पटक राखेको शेयर बाँडफाँटको नतिजा हेर्दा १७०५७ नम्बरको आवेदनबाट राजन श्रेष्ठ, १७०५८ नम्बरको आवेदनबाट गौरीशङ्कर श्रेष्ठ र १७०५९ नम्बरको आवेदनबाट रूपक धन्वन्तरीलाई सेयर परेको देखिएको थियो ।