Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

दुई फाइनान्सलाई एकैपटक खरिद गर्दै सिभिल बैंक, अन्तिम सम्झौतामा हस्ताक्षर

२०७३ फाल्गुन २३ गते

सिभिल बैंक लिमिटेडले हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेड र युनिक फाईनान्स लिमिटेड प्राप्ति गर्ने सम्बन्धमा आईतबार अन्तिम सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग, हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा. विनोद बहादुर खत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

प्राप्तिपछि बैंकको नाम सिभिल बैंक नै रहने तथा बैंकको हालकै संचालक समिति एवं उच्च व्यवस्थापन यथावत हुने बताइएको छ । प्राप्तिपछि सिभिल बैंक लिमिटेडको चुक्तापुँजी पाँच अर्ब पाँच करोड रुपैयाँ पुग्ने छ । उक्त दुवै संस्थाको प्राप्ति र आ.व.२०७२।७३को मुनाफाबाट बोनस सेयर जारी गरे पश्चात कायम हुन आउने चुक्तापुँजीको २०% हकप्रद सेयर जारी गर्ने योजना बैंकको छ । राष्ट्र बैंकको मौद्रिक नीति तथा परिपत्र बमोजिम २०७४ असार मसान्तभित्र न्यूनतम चुक्तापुँजी आठ अर्ब रुपैयाँ पुर्याउन बैंकले अन्य कुनै संस्थासँग एक्विजिसन वा मर्जरमा जाने योजना बनाएको छ । 

एक्विजिसनपछि बन्ने बैंकको शाखा संख्या ५३ पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए । यी तीन संस्थाहरुले हालसम्ममा ३३ अर्ब ६३ करोड निक्षेप संकलन गरी ३१ अर्ब ६८ करोड कर्जा लगानी गरेका छन् ।