हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता नेपालमा रहेको प्रतिबन्धित भारतीय नोट सटहीको सम्बन्धमा छलफल गर्न आएका भारतीय टोलीप्रति सञ्चारमाध्यमहरुको ध्यान खिचियो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
मुद्रा सटहीको छलफलमा भारतीय टोली
नेपालमा रहेका प्रतिवन्धित भारु पाँच सय र हजार दरका पुराना नोट सटही गर्ने विषयमा छलफल गर्न मंगलबार नेपाल आएको भारतीय टोली विहीबार फर्कियो । नेपालमा रहँदा टोलीले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र विभिन्न वाणिज्य बैंकका प्रतिनिधिहरुसँग छलफल गगर्यो । छलफलका क्रममा भारतीय टोलीले नेपालको बैंकिङ प्रणालीको सुरक्षाबारे जिज्ञासा राख्यो । टोलीले भारु नोट साट्नुअघि नेपालको बैंकिङ प्रणालीको विश्वसनीयताबारे बुझेको हो । छलफलका क्रममा नेपालको केन्द्रीय बैंकले गरेको व्यवस्थालाई बैंकहरुले कसरी पालना गरिरहेका छन् वा छैनन् भन्ने विषयमा भारतले चासो राखेको थियो ।
नेपाल लगानी सम्मेलन
नेपालको आर्थिक विकासको मेरुदण्ड मानिएका नौ क्षेत्रमा केन्द्रित रहेर वैदेशिक लगानी भित्र्याउन काठमाडौमा बिहिबारदेखि ‘नेपाल लगानी सम्मेलन’ शुरु भयो । राजधानीको एक होटलमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मेलनको उद्घघाटन गरे । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालसहित सरकारका बरिष्ठ मन्त्रिदेखि प्रमुख दलका शिर्ष नेताहरुले नेपालमा लगानी बढाउन विदेशी लगानीकर्तालाई आह्वान गरे ।
प्रभु इन्स्योरेन्सको नौलो सुरुवात
प्रभु इन्स्योरेन्सले काठमाडौँमा ‘न्यू कन्सेप्ट’ सहितको नयाँ शाखा विस्तार गर्यो । सो शाखामा सबै महिला स्टाफहरुमात्रै हुनेछन् । तत्कालका लागि सो शाखामा पाँच जना महिला कर्मचारी रहनेछन् । महिलाहरुका लागि पनि विशेष अवसर सृजना गर्ने उद्देश्यले महिलामात्रै कर्मचारी रहने गरी काठमाडौँको न्यूरोडमा नयाँ शाखा खोलिएको प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले बताए । प्रभु इन्स्योरेन्सले यो बिलकुल नयाँ अवधारणासहितको शाखा विस्तार गरेको हो । हालसम्म बैंकिङ क्षेत्रमा कुनै पनि यस्तो कार्यालय छैन, जहाँ हाकिमदेखि पियनसम्म महिला कर्मचारीमात्रै छन् ।
जनता र सिद्धार्थबीच एक्विजिसन सम्झौता
त्रिवेणी विकास बैंकलाई खरिद गर्ने प्रक्रियाको अन्तिम चरणमा रहेको जनता बैंक नेपाल लिमिटेडले बुधबार सिद्धार्थ डेभलपमेन्ट बैंक लिमिटेडलाई खरिद गर्ने सम्झौता गर्यो । यी दुई बैंकबिच एक बराबर एकको स्वाप रेसियामा एक्विजिसनमा जाने सम्झौता भएको हो ।
सेञ्चुरी र सगरमाथाबीच एक्विजिसन सम्झौता
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सगरमाथा फाइनान्स लिमिटेडलाई खरिद गर्ने भएको छ । सगरमाथा लाई सेञ्चुरीले एक्वायर गर्ने सम्बन्धमा यी दुई संस्थाका अध्यक्षले विहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
विना स्वीकृति बैंकिङ कारोबार गर्ने आठ सय पक्राउ
चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करीब ८ सयजनालाई पक्राउ गर्यो । मन्त्रालयले देशभर गैरकानूनी रुपमा कारोबार गर्दै आएका ‘भूमिगत बैंक’ ले गत वर्षमा चीनको झण्डै १ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको रकमको अपचलन गरेको पाइयो । यस्तै विदेशी मुद्राको विनिमय नियन्त्रणलगायतका अन्य कानूनलाई समेत उल्लंघन गरेको आरोपमा यसमा संलग्न ठूलो संख्यालाई नियन्त्रणमा लिइएको हो ।
राष्ट्र बैंक कर्मचारी संघमा नयाँ कार्यसमिति
नेपाल राष्ट्र बैंक कर्मचारी संघको अध्यक्षमा ढुण्डीराज मिश्र निर्वाचित भएका छन् । संघकोे सातौं अधिवेसनले मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा भने रुद्रप्रसाद तिमिल्सिना र बाबुराम कोइराला निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा गोविन्दप्रसाद भण्डारी तथा सचिवमा डण्डप्रसाद खरेल र कृष्ण केसी निर्वाचित भएका छन् भने कोषाध्यक्षमा पदमराज जोशी र सहकोषाध्यक्षमा बबी केसी निर्वाचित भएका छन् । सदस्यमा उमाकान्त थपलिया, तुलसीराम गुरागाईँ, बिष्णुवहादुर श्रेष्ठ, सुरेश शिवाकोटी, कृष्णप्रसाद गौतम, हरिप्रसाद अर्याल, भरतदेव पाण्डेय, कमला अर्याल, खगेश्वर भण्डारी र शारदा लोहनी निर्वाचित भएका छन् ।
आस्वालाई प्रभावकारी बनाउन निर्देशन
नेपाल धितोपत्र बोर्डले आस्वा प्रणालीलाई प्रभावकारी रुपमा अघि बढाउन आस्वाको अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुलाई अनुरोध गर्यो । बोर्डले एक सर्कुलर जारी गर्दै आस्वा प्रणालीलाई प्रभावकारी तथा सहज बनाउन सम्बन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्न अनुरोध गरेको हो । बोर्डका उपनिर्देशक निरञ्जय घिमिरेद्धारा जारी सर्कुलरमा भनिएको छ, ‘यस प्रणालीमा सहभागी कतिपय बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगले सेवा प्रदान नभएको भन्ने पाइएकोले यस प्रणालीलाई सहज तथा प्रभावकारी सम्बन्धित कर्मचारीहरुलाई शीघ्र आवश्यक तालिम तथा अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरी क्षमता अभिवृद्धि गर्न तथा यस प्रणालीको कार्यान्वयन सम्बन्धमा कुनै समस्या देखा परेमा बोर्डलाई जानकारी गराउन निर्देशानुसार अनुरोध गर्दछु ।’ यस सम्बन्धमा आवश्यक परेमा बोर्डबाट समेत आवश्यक सहयोग प्रदान गर्न सकिने बताइएको छ ।
अन्य
- नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले युनाईटेड फाइनान्स लिमिटेडसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्यो ।
- मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता गर्यो ।
- ग्राहकहरुलाई मुद्दती खाताका साथसाथै बचत खाताको पनि लाभहरु अर्थात् तरलता र उच्च ब्याजदर दुवै प्रदान गराउने उद्देश्यले लक्ष्मी बैंकले अनफिक्स्ड डिपोजिट नामक एक नयाँ मुद्दती खाताको सुरुवात गर्यो ।
- नेपाल राष्ट्र बैंकले शुक्रबार सात अर्ब रुपैयाँको छ वर्षे विकास ऋणपत्र निष्काशन गर्यो ।
- शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको ज्योति विकास बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गर्यो ।
- नेपाल बंगलादेश (एनबि) बैंकले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पायो ।
- टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पायो ।




