सरकारले नगद कारोबारको सीमा निर्धारण गरेपछि धनाढ्यहरुमा सन्त्रास फैलिएको छ । सरकारले अनौपचारिक अर्थतन्त्रलार्ई नियन्त्रण गर्न भन्दै १० लाख रुपैयाँभन्दा माथिको नगद कारोबार गर्न नपाइने प्रावधान ल्याएपछि ठूलो रकमको कारोबार गर्नुपर्ने धनाढ्यहरु समस्यामा परेका हुन् । अनौपचारिक लेनदेनले अर्थतन्त्रमा नकारात्मक असर पुगेको निष्कर्ष निकाल्दै यस्तो लेनदेन नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको अर्थ मन्त्रालयको तर्क छ । यो व्यवस्था आगामी साउनदेखि लागू हुने बताइएको छ ।
सरकारले पहिलो पटक यसरी नगद कारोबारको सीमा निर्धारण गरेको हो । यो व्यवस्था लागू भएसँगै वित्तीय अपराध न्यूनिकरण हुने विश्वास लिइएको छ । सीमा निर्धारणले राजस्व तथा भ्याट छली, अस्वभाविक आम्दानी, सम्पत्ति शुद्धीकरण जस्ता वित्तीय अपराधबाट आर्जन गरेको रकम नियन्त्रण गर्न पनि सघाउ पुग्ने दाबी अर्थमन्त्रालयको छ ।


