Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अन्तर्राष्ट्रिय बैंकिङ

चीनमा ‘भूमिगत बैंक’को भय, आठ सय कारोबारी पक्राउ 

२०७३ फाल्गुन १७ गते

चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करीब ८ सयजनालाई पक्राउ गरेको छ । त्यहाँको गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो । 


मन्त्रालयले देशभर गैरकानूनी रुपमा कारोबार गर्दै आएका ‘भूमिगत बैंक’ ले गत वर्षमा चीनको झण्डै १ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको रकमको अपचलन गरेको पाइएको बताएको छ । चीनमा व्यवसायीलाई सहयोग पुर्याउन बिनादर्ता पनि बैंकिङ कारोबार गर्न अनुमति प्रदान गरिँदै आएकोमा यस्तो कारोबारले राज्य सञ्चालित बैंकिङ प्रणालीलाई समेत खतरा ल्याउँदै वित्तीय अपराधलाई पश्रय दिएको मन्त्रालयको ठहर छ । यस्तै विदेशी मुद्राको विनिमय नियन्त्रणलगायतका अन्य कानूनलाई समेत उल्लंघन गरेको आरोपमा यसमा  संलग्न ठूलो संख्यालाई नियन्त्रणमा लिइएको हो । 

चिनियाँ कम्पनी र साना लगानीकर्तामार्फत प्रत्येक महिना अर्बौँ डलर बराबरको रकम चीन बाहिर लगेको आरोपमा कम्पनी र साना लगानीकर्ताहरु र यसमा संलग्न व्यवसायीलाई नियन्त्रणमा लिइएको हो । चिनियाँ प्रशासनले यस्ता कारोबारबाट चिनियाँ मुद्राको अवमूल्यन हुन सक्ने निष्कर्षका साथ बाहिर जाने लगानी र व्यक्तिगत लगानीकर्तालाई कानूनी दायरामा ल्याउने प्रयास गरेको अनुमान गरिएको छ । 

मन्त्रालयद्धारा जारी विज्ञप्तिमा पक्राउ गरी वित्तीय कारोबारमा संलग्न व्यक्तिले कस्ता क्रियाकलापलाई पश्रय दिएका थिए भन्नेबारे विस्तृतमा नजनाईकन उनीहरु अनाधिकृत रुपमा मुद्रा विनिमय कारोबारमा संलग्न भएको बताइएको छ । 

चीनको विदेशी मुद्रा विनिमय केन्द्रले विगत ६ महिनादेखि केन्द्रीय बैंकद्धारा अनुमानित प्रतिमहिना ४० देखि ६० अर्ब अमेरिकी डलर विदेशी मुद्रा विनिमयमा खर्चिदै आएको भनी आउने गरेको आरोपलाई खण्डन गर्दै आएको थियो । श्रोत : रासस/एपी