राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । मानव विकास तथा जागरण मञ्चले सोमबार आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्य्विधि तयार भएका युवासँग आवेदन मागेको जानकारी दिए ।
परिषद्ले प्रतिनिर्वाचन क्षेत्रबाट पहिलो चरणमा एक वडामा १० युवालाई पाँच लाख रुपैयाँको निब्र्याजी ऋण उपलब्ध गराउनेछ । त्यसमा ५० प्रतिशत महिला पर्नेछन् । सो ऋण प्रतिवर्ष १० प्रतिशतका दरले सरकारलाई ऋण चुक्ता गर्नुपर्नेछ । कम्तीमा कक्षा ८ उत्तीर्ण युवाले कानुन बमोजिम समूह बनाएर व्यावसायिक परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ ।
उपाध्यक्ष ढुङ्गेलले यो कार्यक्रम सफल भएमा नेपालमा समृद्धिको यात्रा आरम्भ हुने बताए। युवा महिलाका लागि गरिनुपर्ने कार्यबारे राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनकुमारी सुनारले कार्यपत्र प्रस्तुत गर्दै युवा रोजगारी र सामाजिक सुधारका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट साझा पहल हुनुपर्ने बताईन् ।
नेकपा (एमाले)का सांसद रामेश्वर फुयाँलले मुलुकलाई आत्मनिर्भर बनाउन स्वरोजगारमा लगाउनु आवश्यक भएको बताए।नेकपा (माले)की सांसद कलशादेवी महराले युवाका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने निकायबीच समन्वयको खाँचो औँल्याईन्। मञ्चका अध्यक्ष विनिता पन्तले कार्यशालाबाट जारी गरिएका घोषणापत्र कार्यान्वयनका लागि परिषद्मा हस्तान्तरण गरिने जानकारी दिए । रासस
मुख्य
२४ हजार युवाले विनाधितो पाँच लाख रुपैयाँ निर्ब्याजी ऋण पाउने, युवासँग आवेदन माग
२०७३ फाल्गुन २ गते
