February 11th, 2017

कुनै समय भाडाको पसल चलाउने ‘चौधरी परिवार’ यसरी बन्यो ४० कम्पनीको मालिक

बिनोद चौधरी नेपालका एक परिचित उद्योगपति हुन् । उनी चौधरी ग्रुप अफ इन्डस्ट्रीजका मालिक हुन् । उनी विश्वकै धनी मानिसहरुको सूचीमा पर्ने नेपालका एक मात्र व्यक्ति समेत हुन् । सीजीभित्र झन्डै ४० कम्पनी छन् । सीजीका केही कम्पनीका सेयर सर्वसाधारणलाई विक्री गरिएको छ । औद्योगिक पृष्ठभूमीका विनोद चौधरी आफूलाई जतिसक्दो विस्तार गर्न चाहन्छन् । नेपाल भित्र मात्र नभएर नेपाल बाहिर समेत आफ्नो व्यवसाय विस्तार गर्ने सोच उनको छ । 

चौधरी परिवारको औद्योगिक यात्रा
९० सालको महाभूकम्प गएको २ वर्षपछि सन् १९३५मा चौधरी परिवारले न्युरोड हालको विशाल बजार अघि वार्षिक २०० रूपैयाँ भाडामा लिएर पसल खोलेको थियो । त्यो पसलका सामान बिक्री गर्न तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमशेरको दरबारमा आउजाउ गर्न चौधरी परिवारलाई रोकतोक थिएन । पछि ब्रान्डका सामान बिक्री गर्न न्युरोडमा अरुण इम्पोरियम खोले । यहाँका कतिपय आयातित सामान पनि दरबार जान्थे । चर्चित अन्तर्रा्िष्ट्रय ब्रान्डका कपडा र अन्य समाग्री ल्याई दरबार र सम्पन्नलाई बिक्री गर्दा गर्दै चौधरी परिवार स्टील, घागो कारखानाजस्ता उद्योगमा प्रवेश गरेको थियो । पछिल्लो समयमा चौधरीको कपडा पसलका ग्राहक तत्कालीन राजारानी र दरबारका सदस्य हुन्थे । पञ्चालयतकालमा दरबारसँगको यो सम्पर्क वाईवाई चाउचाउको उद्योग खोल्ने लाईसेन्स लिन उपयोगी बन्यो ।

सफलता र असफलताको मिश्रण
नयाँ कुरामा रुचि राख्ने विनोद चौधरी एउटा व्यवसायमा मात्र सिमित रहेनन्, नयाँनयाँ व्यवसायमा उनले हात हाल्दै गए । कतिमा सफल भए कति असफल । रेडियो टेलिभिजन बिक्रीवाट सन्तुष्ट नभई पार्टपुर्जा ल्याएर उत्पादन सुरु गरे । दुई वर्षअघि नैपालमै सिजी ब्रान्डको टिलिभिजन बिक्री गर्न सुरु गरे । बासुदेव चलचित्र बनाएर मनोरञ्जन उद्योगमा प्रवेश गरे । ठेक्का पट्टा, निकासी व्यापारमा पनि चौधरी परिवार संलग्न थियो। काठमाडौं त्रिशुली सडक, सोल्टी होटलको केही भाग चौधरी समूहले बनाएको हो । देशले आर्थिक उदारीकण नीति लिएपछि बंैक, होटल, फाइनान्स कम्पनी, हाउजिङ, जलविद्युत, स्वास्थ्य, उत्पादनलगायत उद्योगमा सिजीले हात हाल्यो । तत्कालीन समयमा यी सबै नयाँ क्षेत्र थिए । सञ्चार, बियर, चुरोटलगायत उद्योगमा पनि सिजीले लगानी गर्यो । तर, यी क्षेत्रमा योजनाअनुसार सफल हुन सकेन ।

शक्तिसँगको निकटता
अरुवाट बढीभन्दा बढी फाइदा लिन सक्ने खुबी भएका चौधरी सधै पावर निकट बस्छन् । पञ्चायतका बेला चौधरी परिवारको राजा, राजपरिवारसँग निकटता थियो । पटकपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापासँग विनोद पहिले देखिनै नजीक थिए । पावर हुनेसँग विनोद छिटो सम्बन्ध बनाउँछन् । बहुदल आएपछि चौधरी परिवारले एमाले नेता तथा लेखक मोदनाथ प्रश्रितलाई पैसा सापटी दिएको थियो । अहिले पनि उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीसँग विनोदको निकट सम्वन्ध छ । राजनैतिक शक्ति केन्द्रमात्र होइन, विनोद सम्वद्ध विशेषज्ञ, बजारका जानकार, सञ्चारकर्मीको सधैं सम्पर्कमा बस्छन् ।

ठिक समयको सही निर्णय
ठिक समयमा सही निर्णयले विनोदलाई बहुराष्ट्रिय लगानीकर्ता बन्न सहयोग गर्यो । खाडी मुलुक दुबईमा घरजग्गा व्यवसाय फस्टाइरहेको समयमा उनी त्यहाँ लगानी गर्न पुगे । त्यहाँ राम्रो पैसा कमाउन विनोद सफल भए । दुबईको घरजग्गा व्यवसायमा मन्दी आउँदा उनी बाहिर निस्किसकेका थिए । यही समयमा उनी भारतको प्रतिष्ठित व्यवसायिक घरना टाटा समूहसँग जोडिन पुगे । श्रीलंका, मालदिभ्समा ताज होटल समूहसँग मिलेर लगानी सुरु गरे । श्रीलंका स्टक एक्स्चेन्जको वेबसाइट खोल्यो भने पाँच तारे ताज श्रीलंका रिर्सोटको सञ्चालकमा विनोद र उनका परिवारका सदस्यको नाम आउँछ । मालदिभ्समा टाटा समूहका अध्यक्ष रतन टाटा र विनोद चौधरीका छोराले त्यहाँका राष्ट्रपतिलाई आफ्नो होटलमा स्वागत गरेको तस्बिर नेपालका सञ्चारमाध्यममा केही वर्षअघि सार्वजनिक भएको थियो । अमेरिकाको न्युयोर्क्िस्थत म्यानह्याटनसम्म सिजीको लगानी विस्तार भएको छ । विश्व आर्थिक मन्दीको असर महसुस गर्ने पहिलो नेपाली उद्यमी पनि विनोद चौधरी नै थिए । मन्दी सुरु भए लगत्तै यसबारेमा सहकर्मी सांसद र सरकारलाई सचेत गराएका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]