Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

यो साता चर्चामा रहेका उत्कृष्ट सात बैंकिङ समाचारहरु

२०७३ माघ २८ गते

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । बैंकहरुमा तरलता कम हुँदा विभिन्न क्षेत्रमा देखिएका प्रभावहरु यो साता हरेक सञ्चार माध्यममा मूख्य समाचार बन्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

गाडी र घरजग्गामा बैंकहरुले लगानी रोक्ने
नेपाल राष्ट्र बैंकको चेतावनीपछि वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा भईरहेको लगानी तत्कालका लागि रोक्ने निर्णय गरे । अनुत्पादक क्षेत्रमा लगानी बढाएको भन्दै नियामक निकायले असन्तुष्टि जनाएपछि बैंकहरुले सेयर धितो कर्जा पनि रोक्ने निर्णय गरेका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एशोसियसनको आज बसेको बैठकले तत्काललाई गाडी, घरजग्गा, सेयर धितो ऋण रोक्ने निर्णय गरेको संघका अध्यक्ष अनिल केशरी शाहले जानकारी दिए । 

सनराइज बैंकले किन्यो एनआईडीसी क्यापिटल
सनराइज बैंक लिमिटेडले एनआइडीसी क्यापिटल मार्केट्स लिमिटेडलाई खरिद गरेर शुक्रबारदेखि एकीकृत कारोबार सुरु गर्यो । माघ १३ गते एक्विजिसनका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको बैंकले सनराइज बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको हो । सनराइजसँग एनआइडीसी क्यापिटलको स्वाप रेसियो ६५ प्रतिशत कायम गरिएको छ । 

सुन आयातको कोटा बढ्यो
नेपाल राष्ट्र बैंकले सुन आयात तथा विक्रीवितरण कार्यविधि २०६८ संशोधन गरी सुन आयातको कोटा बढायो । वाणिज्य बैंकहरुको नाममा परिपत्र जारी गर्दै जारी गरिएको संशोधित कार्यविधिअनुसार केन्द्रीय बैंकले हाललाई सुनको दैनिक आयात कोटालाई बढाएर २० किलो कायम गरेको हो । यसअघि वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गर्दै आएका थिए ।

बैंकिङ कसुरका दोषी पक्राउ
बैकिङ कसुरमा दोषी ठहर भई फरार भएका काठमाडौं मन्डिखाटारका किरणकेशर नेपाललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले पक्राउ गर्यो । उनलाई काठमाडौँको पानीपोखरीबाट सोमबार पक्राउ गरिएको सीआईबीले जनाएको छ । २०६७ असारमा उनले कम्पनीबाट धितोमा हुँदै नभएको सिता खाँडसरी चिनी मिल परियोजनाका लागि नौ करोड रुपियाँ ऋण लिई उक्त रकम जग्गाको कारोबारमा लगानी गरेर दुरुपयोग गरेका थिए । एकचालिस बर्षीय नेपाललाई पुनरावेदन अदालत पाटनले २०७१ साल बैशाखमा तीन बर्ष कैद र नौ करोड ४१ लाख ३७ हजार जरिवानाको फैसला सुनाएको थियो । 

भिबोर सोसाइटी र लुम्बिनी फाइनान्स मर्जरमा जाने
केही महिना अघि भिबोर विकास बैंक र सोसाइटी डेभलपमेन्ट बैंक मर्जर भई देशकै ठूलो विकास बैंक बनेको भिवोर सोसाइटी डेभलपमेन्ट बैंकले आफ्नो नामै मेटिने गरी दोश्रो संस्थासँग मर्जर सम्झौता गर्यो । लुम्बिनी फाइनान्स एण्ड लिजिङ लिमीटेडसँग मर्जर भई ‘लुम्बिनी विकास बैंक लिमिटेड’ रहने सम्झौता गरेको हो । दुबै संस्था मर्ज भई बन्ने लुम्बिनी विकास बैंकको चुक्ता पुँजी दुई अर्ब ३८ करोड रुपैयाँ पुग्नेछ ।

खोरुंगा जलविद्युत्मा तीन बैंकले लगानी गर्ने
तेह्रथुम पावर कम्पनीले निर्माण गर्न लागेको ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भयो । कुल एक अर्ब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३७ करोड रुपैयाँ प्रवद्र्धक संस्थाले र बाँकी रकम माछापुच्छे बैंक लिमिटेडले ४० करोड रुपैयाँ, नेपाल बङ्गलादेश बैंकले ३० करोड रुपैयाँ र जनता बैंकले ३० करोड रुपैयाँ लगानी गर्ने भएका छन् ।

अन्य,
सिद्धार्थ बैंकले प्रदान गर्दै आएको विभिन्न कार्ड सेवाहरु डेबिट, क्रेडिट र प्रिपेड कार्डहरुलाई स्तरोन्नति गरी इएमभि चिप कार्डका रुपमा सञ्चालनमा ल्यायो ।

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेड र नेपाल बैंक लिमिटेड बीच बैंकिङ कारोबारसम्बन्धी सम्झौता सम्पन्न भयो । 

नेपाल एसबिआई बैंकले अनलाइन आस्वा सेवा सुरु गर्यो ।