बैकिङ कसुरमा दोषी ठहर भई फरार भएका काठमाडौं मन्डिखाटारका किरणकेशर नेपाललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले पक्राउ गरेको छ । उनलाई काठमाडौँको पानीपोखरीबाट सोमबार पक्राउ गरिउको सीआईबीले जनाएको छ । २०६७ असारमा उनले कम्पनीबाट धितोमा हुँदै नभएको सिता खाँडसरी चिनी मिल परियोजनाका लागि नौ करोड रुपियाँ ऋण लिई उक्त रकम जग्गाको कारोबारमा लगानी गरेर दुरुपयोग गरेका थिए । एकचालिस बर्षीय नेपाललाई पुनरावेदन अदालत पाटनले २०७१ साल बैशाखमा तीन बर्ष कैद र नौ करोड ४१ लाख ३७ हजार जरिवानाको फैसला सुनाएको थियो ।
उनले ऋण लिने क्रममा मण्डिखाटारस्थित आफ्नो आठ रोपनी जग्गाको अत्यधिक मूल्याङ्कन गराई ऋण लिएका थिए । कम्पनीका कर्मचारीहरुको समेत मिलेमतोमा ऋण लिएका नेपालले घरजग्गाको कारोबारमा लगानी डुबेपछि ऋण तिर्न असफल भएका थिए ।प्रहरीले क्यापिटल मर्चेन्टलाई नै ठगी गरेको भन्दै अरुणकुमार मराठा (छ बर्ष कैद र १३ करोड ३० लाख रुपियाँ जरिवाना) लाई २०७२ जेठमा, नवराज खत्री (तीन बर्ष कैद र छ करोड ५० लाख रुपियाँ जरिवाना) लाई २०७२ जेठमै, तुलसाकुमारी धमला –तीन बर्ष कैद र दुई करोड २० लाख रुपियाँ जरिवाना)लाई २०७२ साउनमा र भाईकृष्ण खड्का (तीन बर्ष कैद र तीन करोड ५० लाख जरिवाना)लाई २०७२ भदौमा फैसला कार्यान्वयनका लागि पक्राउ गरेको थियो ।
त्यसको झण्डै एक वर्षपछि पक्राउ गरेका नेपाललाई पानीपोखरीबाट पक्राउ गरी कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाईएको सिआईबीले जनाएको छ । अदालतको आदेशअनुसार नेपालले ९ करोड ४१ लाख ३७ हजार ७ सय ७४ रुपैयाँ जरिवाना र तीन वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ ।
