नेपाल राष्ट्र बैंकले सुन आयात तथा विक्रीवितरण कार्यविधि २०६८ संशोधन गरी सुन आयातको कोटा बढाएको छ । वाणिज्य बैंकहरुको नाममा परिपत्र जारी गर्दै जारी गरिएको संशोधित कार्यविधिअनुसार केन्द्रीय बैंकले हाललाई सुनको दैनिक आयात कोटालाई बढाएर २० किलो कायम गरेको हो । संशोधित कार्यविधिमा माघ १ गतेदेखि २०७१ असार मसान्तसम्म दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि वाणिज्य बैंकहरूले दैनिक १५ किलो सुन आयात गर्दै आएका थिए । केन्द्रीय बैंकले यसअघि गत पुस २६ गते संशोधन गरेको कार्यविधिमा सुनको दैनिक आयात कोटा १५ किलो निर्धारण गरिएको थियो । सो व्यवस्थाअनुसार सुन आयात गर्दा त्यसको परिचय खुल्ने कोड नम्बर हुनुपर्ने, ९९.९९ प्रतिशत शुद्ध सुन आयात गर्नुपर्ने उल्लेख थियो । त्यसैगरी गत पुस २६ गतेबाट लागू हुने गरी सुन झिकाउने वाणिज्य बैंकहरुलाई एक, दुई सय, पाँच सय र एक केजीको परिमाणसम्मको सुनको विक्रीवितरण गर्न केन्द्रीय बैंकले भनेको थियो । तर पछिल्लो पटककको कार्यविधिमा राष्ट्र बैंकले आगामी फागुन मसान्तसम्मका लागि भने २० कायम गरेको हो ।
विवाहको लगन सुरू हुन लागेको र बजारमा सुनको माग बढे पनि आपूर्ति ज्यादै कम भएको भन्दै व्यवसायीहरूले कोटा बढाउन माग गरेपछि केन्द्रीय बैंकले कार्यविधि संशोधन गरी कोटा बढाएको हो । नयाँ व्यवस्थाअनुसार दैनिक ५ किलो थप सुन आयात गर्न सकिनेछ । असार मसान्तपछि भने दैनिक १५ केजी मात्रै सुन आयात गर्न पाइनेछ ।


