चुनाव र तरलता अभावको अवस्थाको प्रभाव सेयर बजारमा देखिएको छ । गत साताको कारोबारको पहिलो तीन दिन लगातार बढेको सेयर बजार पछिल्लो तीन दिनमा ४१ अंकले घटिसकेको छ । चुनाव र तरलताको विषयमा सुनिएका खबरहरुले लगानीकर्ताको मनस्थितीमा प्रभाव पार्दा सेयर बजार ओरालो गतिमा लागेको छ । गत साताको बुधबार अनलाइन ट्रेडिङ र चुनावको मिति तत्कालै घोषणा भइहाल्ने समाचारले ६३.४९ अंकको छलाङ मारेको बजार चुनावको मिति फागुन लागेपछि तय गर्ने समाचार आएसँगै घट्न थालेको हो ।
नेपाल स्टक एक्सचेन्जमा सेयर मुल्य घटेर परिसुचक तल आउने क्रममा कारोबार रकम समेत न्युन हुँदै गएको छ । आइतबार २६ करोडको कारोबार भएको बजारमा सोमबार जम्मा २३ करोडको कारोबार भएको छ । आइतबार २५ कम्पनीको सेयर मूल्य अधिकतम ९.९८३१ प्रतिशतदेखि न्यूनतम ०.५७९ प्रतिशतसम्मले बढेको थियो भने सोमबार २३ वटा कम्पनीको सेयरमूल्य अधिकतम ३.८४६२ प्रतिशतदेखि न्युनतम ०.१८५५ प्रतिशतसम्मले बढेको छ । ठूला कम्पनीहरुको सेयरमूल्य निरन्तर घटिरहेको छ । बजार निरन्तर घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ । संस्थागतभन्दा व्यक्तिगत लगानीकर्ताको जमात ठूलो भएको बजारमा लगानीकर्ताहरु हतोत्साहित हुन थालेका छन् । सेयर बेच्नेहरु बढेका छन् भने किन्नेहरु घटेका छन् । उनीहरु घाटामै सेयर बेचेर बजारबाट बाहिरिन चाहेको देखिन्छ ।
यद्यपि, सेयर बजार घट्यो भन्दैमा हतासिएको बाहिरिन नहुने विश्लेषकहरु बताउँछन् । यो समय सेयर बेच्ने नभएर किन्ने समय भएको उनीहरुको तर्क छ । सेयर बजार घटेको अवस्थामा कसरी आफ्नो लगानी सुरक्षित गर्ने भन्ने विषयमा केही सेयर विश्लेषक तथा विज्ञहरुले यस्तो सुझाव दिएका छन् ।
बजार घट्दा पनि फाइदा लिन सकिन्छ
गोपाल भट्ट
सेयर बजारको पछिल्लो उताचढाव सेयर बजारमा भईरहेको पुरानै उतारचढावको निरन्तर श्रृंखला हो । शेयर बजार आफैमा उतारचढाव भईरहने ‘इकोनोमिक भेरिएवल’ अर्थात आर्थिक चर हो । सूचकमा उतारचढाव भईरहनुनै पर्छ । यसले बजारमा आएको सूचनालाई लगानीकर्ताले कसरी मूल्यमा कन्भर्ट गर्छन् भन्ने कुरा प्रष्ट पारिदिन्छ । बजार एउटा गतिमा गईरहेको छ । कहिले माथि कहिलो तल भईरहेको छ । तर जब यसमा परिवर्तन आउँछ, स्वभाविक रुपमा त्यसलाई लगानीकर्ताहरुले रियाक्ट गर्छन् । बजार माथि गईरहेका बेला लगानीकर्ताहरु उत्साहित भईरहेका हुन्छन् । तल ओर्लिनु भनेको नेपालको मार्केट रुललाई हेर्नुपर्छ । नेपालमा अहिले वान साइडेट मार्केट छ । सबैले बजारमा लगानी गर्ने, आफुले लिएको सेयरको मूल्य बढ्यो भने प्रोफिट बूक गर्ने तर मूल्य घट्यो भने रिटर्न नेगेटिभ हुने बजार छ हामीकहाँ । स्टक मार्केटहरु विकसित भएका मुलकहरुमा बजार उकालो लागेपनि ओरालो लागेपनि लगानीकर्ताले प्रोफिट बूक गर्न सक्छ । घटेको बेला किन्ने र बढेको बेला बेच्ने गरियो भने घट्दा वा बढ्दा दुबै अवस्थामा लगानीकर्तालाई फाइदा नै हुन्छ । बजारमा अर्को किसिमले पनि रिटर्न लिन सकिन्छ । त्यो हो सर्ट सेलिङ । बजार घट्न लाग्यो भने त्यतिबेलै फाइदा लिन लगानीकर्ताले अहिले सेयर बेचिदिन्छ । अहिलेको मूल्यमा सेयर किन्छ र भोलि अरुबाट बरो गरेको सेयर हुन्छ, भोलि सस्तोमा किनेर त्यो बरो गरेको सेयरलाई फिर्ता गरिदिन्छ । त्यहाँ उसले अहिले बढीमा बेचेको हुन्छ कममा किनेर फिर्ता गरेको हुनाले त्यो बेलामा पनि उसलाई फाइदा हुन्छ ।
सेयर बजारमा बाह्रै महिना अवसर
रविन्द्र भट्टराई
मार्केटले तपाईलाई १२ महिना नै अवसर दिइरहेको हुन्छ । सेयर मार्केट भनेको दुई महिनापछि बन्द हुने वा निश्चित समयको व्यापार हैन । यहाँ सँधैभरि कारोबार भईरहन्छ । बजारमा कहिले कम्पनी सस्तो भईरहेका हुन्छन्, कहिले महंगो भईरहेका हुन्छन् । त्यहाँ कुन कम्पनी कस्तो भनेर चिन्नुपर्छ । तर पुरानासँग अलि बढी अनुभव हुन्छ । उनीहरुले कहाँ कति जोखिम भन्ने कुरा विश्लेषण गर्न सक्छन् । त्यसैले स्वभाविक रुपमा नयाँले अलि बढी जोखिम मोल्नैपर्छ । सेयर बजारमा लगानी सुरक्षाको ग्यारेन्टी हुँदैन । किनकि, सेयर बजार भनेकै ‘रिस्क’को व्यापार हो । यहाँ साना तथा नयाँ लगानीकर्तालाई मात्रै हैन ठूला लगानीकर्तालाई पनि जोखिम छ । बजारमा आएको उतारचढावबाट आत्तिनुहुँदैन । अनुभवकै लागि पनि थोरबहुत कारोबार गर्दै गर्नुपर्छ । बाहिरी हल्लाको पछि लागेर मार्केटमा छिर्नु भनेको ठूलो रिस्क लिनु हो । लगानी गर्नुअघि बजारसम्बन्धी केही दिन अध्ययन गर्नुपर्छ । आफै मार्केटमा जानुपर्छ, त्यहाँको अवस्था बुझ्नुपर्छ । लगानी गर्दै गरेको कम्पनीको वित्तीय अवस्थाबारे राम्रोसंग बुझ्नुपर्छ । सेयर किन्दा पनि आफ्नो क्षमताअनुसार किन्नुपर्छ । अर्को ‘एक्जिट’ को कुरा छ । बजारबाट निस्कँदा कि फाइदा लिएर निस्कने वा घाटा सहेर अथवा साँवामात्रै भएपनि लिएर निस्कने । तीन किसिमका एक्जिट हुन्छन् । त्यसैले कुन किसिमको एक्जिट आइपरेको अवस्थामा के गर्ने भन्ने कुरा बुझ्नुपर्छ । बजारमा कति कम्पनी यस्ता पनि छन्, जसको वित्तीय अवस्थाले त्यो मूल्यलाई थेग्न सक्दैन । भोलि ती कम्पनीहरु मूल्यका हिसाबले छिटै धरासायी हुन सक्छन् ।
अनिश्चितता सेयर बजारको विशेषता हो
नरेन्द्र चुदाली
सेयर बजारमा अनिश्चितता र जोखीम रहनु यसको विशेषता नै हो । तर, यसमा जुवा घरमा लगानी गरेजस्तै लगानी गर्नु मुर्खताबाहेक अरु केही हुँदैन । यसका निश्चित मुल्य मान्यता छन् । निश्चित नियम छन् । प्राविधिक पाटाहरु छन् । यी सबै कुराको अध्ययन गरेर मात्र लगानी गर्नु आवश्यक हुन्छ । बजार बढीरहँदा लौ अब बजार राम्रो हुन्छ भन्ने पनि होईन । मुख्य विषय के हो भने बजारको बढाई स्वभाविक छ की छैन ? बजारमा रहेका कारक तत्वहरुको अध्ययनबाट बजारको वृद्धि अथवा गिरावट न्यायोचीत देखिन्छ कि देखिँदैन भन्ने हो । बजारमा देखिएका परिवर्तनमा यससँग सम्बन्धित फ्याक्टरहरुको सम्बन्ध मेल खाएन भने त्यहाँ जोखिम बढेर जाने कुरा लगानीकर्ताले बुझ्नु जरुरी छ । किनकी बजार भुकम्पजस्तो अनुमान गर्न नसकिने चिज होईन । यसको बढाई र घटाई धेरै हदसम्म वैज्ञानिक तथा तथ्यपरक नै हुनुपर्छ । हुनसक्छ त्यसमा केही हदसम्म लगानीकर्ताको मनोविज्ञानले काम गर्ला । तर सेयर बजार हावामै चल्छ, कमाउने र गुमाउने कुरा भाग्यमै भरपर्छ भन्ने चाहिँ अवश्य होईन । प्रशिद्ध लगानीकर्ता वारेन बुफेटले भनेका छन् ‘‘अरु डराउँदा तपाई लोभी बन्नुहोस् र अरु लोभी बन्दा तपाई डराउनुहोस् ।” यसको मतलव अरु डराएर सेयर बेच्दा आफु किन्नलाई तयार बन्नुहोस् । अनि अरुले सेयर किन्न लोभ गर्दा तपाई डराउनुहोस् र आफुसंग भएको सेयर बेच्नुहोस् । वास्तममा यो नै सेयर बजारमा नाफा कमाउनका लागि गर्नुपर्ने काम हो ।




