Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विदेश जानेलाई श्रम स्वीकृति अब अनलाइनबाटै, घन्टौँ लाइन बस्ने झन्झटबाट मिल्यो मुक्ति

admin २०७३ माघ २० गते
सेयर:

वैदेशिक रोजगारीमा जानेहरुलाई बुधबारदेखि अनलाइन प्रणालीमार्फत व्यक्तिगत श्रम स्वीकृतिसमेत दिन सुरु गरिएको छ । यसअघि गत पुस ३ गते अन्तर्रा्ष्ट्रिय आप्रवासी कामदार दिवसका अवसरमा संस्थागत वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिन सुरु गरिएकामा बुधबारदेखि त्यसलाई थप विस्तार गर्दै व्यक्तिगत श्रम स्वीकृतिसमेत दिन थालिएको हो । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले श्रमग्राम ताहाचलमा अनलाइन प्रणालीको र राज्यमन्त्री दिलीप खवास गच्छदारले श्रमग्राम हाताभित्रै निर्मित अनलाइन प्रणाली सहायता कक्षको शुभारम्भ गरे । 

अनलाइन प्रणाली सञ्चालन हुनुअघि श्रम स्वीकृति लिन विभागको काठमाडौँ कार्यालय, ताहाचलमा घन्टौँ लाइनमा लाग्नुपर्ने बाध्यता थियो । सो प्रणालीको सुरुवातसँगै त्यो बाध्यता हट्दै गएको छ ।  बीमा रकम, अभिमुखीकरणको तालिमको रकम, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डलाई तिर्नुपर्ने कल्याणकारी कोषको रकमलगायत सबै विवरण अनलाइन प्रणालीमार्फत हुनेछ । यसले गलत नामावली, नक्कली बिमाजस्ता समस्यासमेत हटाउन भूमिका खेल्ने विश्वास लिइएको छ । 
 
अनलाइन प्रणालीमा संस्थागत श्रम स्वीकृतिका लागि वैदेशिक रोजगार संस्था र व्यक्तिगत स्वीकृतिका लागि व्यक्ति आफैले ‘युजर नेम’ र ‘पासवर्ड’ खोलेर वैदेशिक रोजगार विभागलाई युजर नेमको जानकारी दिनुपर्छ । सोही आधारमा युजर नेमबाट आएका विवरणलाई विभागले स्वीकृति प्रदान गर्नेछ ।

मन्त्री गुरुङले सूचना प्रविधिको अहिलेको युगलाई आत्मसात् गर्दै अनलाइन प्रणालीको लामो समयको चाहनाले पूर्णता पाएकामा खुसी व्यक्त गरे । राज्यमन्त्री गच्छदारले यसबाट वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत स्विट्जरल्यान्डको सहयोगमा सुरक्षित आप्रवास परियोजनाको रु पाँच करोड सहयोगमा अनलाइन प्रणाली विकास गरिएको हो । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।