२०७३ माघ १४ गते

डलरको मूल्य अझै घट्ने संकेत

अमेरिकी डलरको मूल्य अझै घट्ने संकेत देखिएको छ । शुक्रबार अमेरिकी डलरको मूल्य २ महिना यताकै सस्तो भएको छ । बिहीवार अमेरिकी डलर सूचक शून्य दशमलव १ प्रतिशतले घटी ९९ दशमलव ८८६ अङ्कमा आएको थियो । उक्त दिन सूचक न्यूनतम ९९ दशमलव ७९३ अङ्कसम्म आएको थियो । यो डिसेम्बर ८ यताकै न्यून हो । अमेरिकी शेयर परिसूचक उकालो लागे पनि डलर भने कमजोर रहेको थियो । बिहीवार दाउ जोन्स इण्डष्ट्रियल एभरेज पहिलोपटक २० हजार अङ्कमाथि पुगेको थियो । बिहीवार डलरको तुलनामा जापानी येनको भाउ २ महीनाकै न्यून बिन्दुनजिक १ सय १३ दशमलव ३८ कायम भएको थियो । उता, अघिल्लो दिन शून्य दशमलव २ प्रतिशतले बढेको प्रतिडलर यूरोको भाउ बिहीवार १ डलर शून्य ७५४ सेण्ट आसपास स्थिर रहेको थियो । उता, पाउण्ड स्टर्लिङको भाउ ६ हप्ताकै न्यून बिन्दु १ डलर २६६३ सेण्ट कायम भएको थियो । एक साता अगाडी मात्र राष्ट्रपतिको पदभार सम्हालेका अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले पछिल्लो समय दिएको अभिव्यत्तिःका कारण लगानीकर्ताहरु लगानी गर्न निरुत्साहित भएको जनाइएको छ । करिब २ महिना यताकै न्युन बिन्दुमा झरेको अमेरिकी डलरको भाउँ अझै ओरालो लाग्ने विज्ञहरुले आँकलन गरेका छन ।