Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
मुख्य

तीन वाणिज्य बैंकले विकास बैंक खरिद गर्दै

२०७३ माघ १३ गते

पुँजीवृद्धिको कसरतमा रहेका वाणिज्य बैंकहरुले विकास बैंकलाई खरिद गर्ने क्रमलाई तीव्र पारेका छन् । यसैबीच तीन वाणिज्य बैंकहरु विकास बैंक खरिद गर्ने प्रक्रियाको अन्तिम चरणमा आइपुगेका छन् । 

नेपाल राष्ट्र बैंकले सनराइज बैंक लिमिटेडलाई एनआईडिसी क्यापिटल मार्केट्स लिमिटेड खरिद गर्न अन्तिम स्वीकृति दिएको छ । हाल सनराइज बैंकको चुक्तापुँजी तीन अर्ब ९७ करोड रुपैयाँ छ भने एआईडीसी क्यापिटल मार्केटको चुक्तापुँजी २० करोड रुपैयाँ छ । आगामी असार मसान्तसम्ममा आठ अर्ब चुक्तापुँजी पुर्याउने दौडमा रहेको सनराइज बैंकले गत आर्थिक वर्षको कमाईबाट ३३.३३ प्रतिशत बोनस सेयर दिँदैछ । बैंकले हाल एक्विजिसनअघिको चुक्तापुँजीको ३३.३३ प्रतिशत बोनस सेयर दिन लागेको हो । उक्त एक्विजिसन र बोनस सेयरपश्चात् सनराइज बैंकको चुक्तापुँजी साढे पाँच अर्ब पुग्नेछ ।  सनराइजले यसअघि नारायणी नेशनल फाइनान्सलाई एक्वायर गरेको थियो । 

त्यस्तै, ग्लोबल आईएमई बैंकले पनि प्यासिफिक डेभलपमेन्ट बैंकलाई किन्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यी दुई संस्थाबिच गत असार एक गते एक्विजिसन गर्ने सहमति भएको थियो । प्राप्तिसम्बन्धी डीडीए प्रतिवेदनअनुसार, प्यासिफिक डेभलपमेन्ट बैंक लिमिटेडको १०० कित्ता सेयर हुनेले ग्लोबल आइएमई बैंक लिमिटेडको ६९.२६ कित्ता सेयर पाउने गरी सेयर स्वाप अनुपात तय भएको छ । १३ करोड रुपैयाँ चुक्तापुँजी भएको प्यासिफिकलाई खरिद गरेपश्चात ग्लोबल आइएमई बैंक लिमिटेडको चुक्ता पुँजी छ अर्ब २५ करोड ६३ लाख रुपैयाँ पुग्ने छ । 

आठ अर्ब पुँजी पुर्याउने दौडमा रहेको ग्लोबल आइएमई बैंकले ७८ करोड ८५ लाख रुपैयाँ चुक्तापुँजी रिलायबल डेभलपमेन्ट बैंकलाई पनि एक्वायर गर्दैछ । यसअघि नै बैंकले साविकको कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्ससँग सफलता पूर्वक मर्जर सम्पन्न गरि सकेको छ भने रिलायबल फाइनान्स लि., शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंक लि.सँग मर्जर भई रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड कायम भएकाले यो एक्विजिसन सम्पन्न भए पछि १० वटा बैंक वित्तीय संस्था मर्जर/एक्विजिसन भै बनेको पहिलो बैंक हुने छ । प्यासिफिक र रिलायबल दुबैलाई खरिद गरेपछि ग्लोबल आईएमई बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ । जसअन्सार, नेपाल राष्ट्र बैंकको निर्देशन अनुरुप निजी क्षेत्रको वाणिज्य बैंकहरुमा कुल चुक्ता पुँजी आठ अर्ब पुर्याउने यो बैक दोस्रो हुनेछ । आठ अर्ब पुँजी पुर्याउने निजीस्तरको पहिलो बैंक नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । 

यता, अर्थमन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी डेभलपमेन्ट बैंकको मर्जरलाई स्वीकृति प्रदान गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको ५२ औँ वार्षिकोत्सवको उपलक्ष्यमा सञ्चालित कार्यक्रममा बोल्दै अर्थमन्त्री कृष्णबहादुर महराले दुई बैंकबीचको मर्जर प्रस्ताव अर्थमन्त्रालयबाट पारित भएको जानकारी दिएका हुन् । ‘राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी बैंकलाई मर्ज गर्ने प्रस्तावमा हस्ताक्षर गरिसकेको र अबको निर्णय मन्त्री परिषद्बाट हुनेछ ।’ उनले भने । सरकारले आफू मातहतका ती दुई वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने विषयमा यस अघिकै मन्त्रिपरिषदले निर्णय गरिसकेको छ । नेपाल राष्ट्र बैंकले पुँजीवृद्धिको नीति ल्याउनुअघि नै राष्ट्रिय वाणिज्य वाणिज्य बैंकको चुक्तापुँजी आठ अर्बभन्दा थियो । हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।