Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेप्से १३९६.६ मा झरेपछि सेयर खेलाडी समेत आतंकित

२०७३ माघ १३ गते

बुधबार सेयर बजारमा गएको पहिरोले सेयर बजारमा फेरी आतंक फैलाएको छ । यहाँसम्मकी सेयर बजारका खेलाडी भनिएकाहरु पनि हच्किएका छन् । फेसबुकमा भित्ताहरुमा उनीहरुले भय पोखिरहेका छन् । आतंकित पनि किन नहोउन् बुधबार सेयर बजारमा ३६.४६ अंकको पहिरो गएको छ । जसअनुसार, नेप्से परिसूचक १३९६.५३ अंकमा कायम भएको छ । यसअघि मंगलबार पनि लगानीकर्ताको लागि कारोबार सन्तोषजनक थिएन । मंगलबार २५ अंकले आरोलो लागेको बजारमा बुधबार ३६ अंकको गिरावट आएको हो । मंगलबार र बुधबार गरी ६१ अंकको गिरावट आएपछि लगानीकर्ताहरु आतंकित बनेका हुन् । 

बुधबारको कारोबारमा उत्पादनमूलकबाहेक सबै समूह ओरालो लागे । सबैभन्दा धेरै बीमा समूह २६७.४१ अंकले घट्यो । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत, फाइनान्स र अन्य क्रमशः ३६.२७, ५८.५६, २९.२६, २४.९९ र २.३१ अंकले ओरालिए । उत्पादनमूलक भने १२.६१ अंकले बढ्यो ।  बुधबारको कारोबारमा परिसूचक घटेपनि कारोबार रकम भने बढेको देखिएको छ । प्रभु बैंको प्रोमोटर सेयरको मात्रै १७ करोडमाथिको कारोबार भएपछि समग्रमा झन्डै ५९ करोड पुँजी परिचालन भएको हो । दिनभरिमा १३५ वटा कम्पनीको १७ लाख नौ सय नौ कित्ता सेयर चार हजर पाँच सय नौ पटक खरिदविक्री हुँदा कुल ५८ करोड ९३ लाख ७७ हजार आठ सय आठ रुपैयाँ बराबरको कारोबार भएको थियो ।  

कुल कारोबारमध्ये, प्रभु बैंकको प्रोमोटर सेयरको १७ करोड ११ लाख ८२ हजार छ सय ४८ रुपैयाँको कारोबार भएको छ भने प्रभु बैंकको साधारण सेयरको एक करोड ९० लाखको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट बैंकको दुई करोडमाथिको कारोबार हुँदा नेपाल बंगलादेश बैंक, गरिमा विकास बैंक, शिखर इन्स्योरेन्स, कृषि विकास बैंक, सिद्धार्थ बैंक, नविल बैंक लगायतको एक करोडमाथिको कारोबार भयो ।  

किन गयो सेयर बजारमा पहिरो ? 

पछिल्लो समय तरलता बढेको हल्लाले सेयर बजार प्रभावित भएको देखिएको छ । हुन पनि वित्तीय बजारमा अहिले तरलताको संकट चुलिएको बताइन्छ । बैंकहरुले सेयर धितोकर्जा प्रवाह घटाएर ब्याजदर बढाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक रुपमै तरलता अभाव भएर १२ प्रतिशत माथि निक्षेपको ब्याजदर प्रस्ताव गर्न थालेकाले त्यसको सिधा प्रभाव सेयर बजारमा परेको देखिन्छ । त्यसैगरी पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले चुक्त पुँजीको लक्ष्य भेट्टाउने क्रममा जारी गरेका हकप्रद सेयर, लिलामीको सेयर तथा प्राथमिक बजारको निष्कासन भएका सेयरहरुमा लगानीकर्ताले रकम बताउनकै लागि पनि दोस्रो बजारमा बिक्री गर्ने क्रम बढेकाले बजारमा गिरावट आएको विश्लेषकहरुको भनाई छ ।