२०७३ माघ १० गते

५२औँ वर्षमा राष्ट्रिय वाणिज्य बैंक, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५२ औँ वार्षिकोत्वसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महराले ग्रामीण तहका जनतामा बैंकिङ पहुँच पुर्याउन राष्ट्रिय वाणिज्य बैंकको भुमिका अग्रणी हुनुपर्ने चर्चा गरे । साथै,  उत्पादनमुलक क्षेत्रमा कर्जा प्रवाह बढाउन बैंक ब्यवस्थापनलाई आग्रह समेत गरे । उनले बैंकलाई बलियो बनाउन बैंक ब्यवस्थापन, संचालक समिति र कर्मचारीहरु बीचको एकता बलियो हुनुपर्ने बताए । 

त्यस्तै, अर्थमन्त्री महराले राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्ट बैंकबीचको मर्जर प्रस्ताव अर्थमन्त्रालयबाट पारित भएको जानकारी दिए । ‘राष्ट्रिय वाणिज्य बैंक र एनआईडिसी बैंकलाई मर्ज गर्ने प्रस्तावमा हस्ताक्षर गरिसकेको र अबको निर्णय मन्त्री परिषद्बाट हुनेछ ।’ उनले भने । सरकारले आफू मातहतका ती दुई वित्तीय निकायलाई मर्ज गर्ने निर्णय अघिल्लो बजेट भाषणमार्फत सार्वजनिक गरेको थियो । राष्ट्रिय वाणिज्य बैंकको ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने विषयमा यस अघिकै मन्त्रिपरिषदले निर्णय गरिसकेको छ ।  

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले जोखिमयुक्त क्षेत्रमा कर्जा प्रवाह नगर्न बैंकहरुको ध्यान आकर्षण गराए । उनले भने– ‘लगानी जोखिमयुक्त हुनु भएन । वित्तीय स्थायित्वका लागि ८० प्रतिशत भन्दा बढि लगानी गर्न हुंदैन, सि.डि. रेसियो (कर्जा र निक्षेपको अनुपात) कुनैपनि हालतमा परिवर्तन गरिँदैन ।’ गभर्नर नेपालले नेपालको आर्थिक विकासमा राष्ट्रिय वाणिज्य बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणि रहेको बताए । 

बैंकका संचालक समितिका अध्यक्ष डा.रवीन्द्र प्रसाद पाण्डेले विगत १० वर्ष यतादेखि बैंकको सबै वित्तीय सुचकहरु सकारात्मक ढगंले अगाडी बढिरहेको भएपनि विद्यमान अवस्थामा बैंकका सामु थुप्रै प्रकारका चूनौतीहरु रहेको औँल्याउँदै बैंक भित्रको जनशक्तिलाई पूर्ण रुपमा उत्प्रेरित गर्न सकियो भने चुनौतीको सामना गर्न सकिने बताए । अध्यक्ष डा. पाण्डेले बैंक जनताप्रति उत्तरदायी संस्था भएकोले तोकिएको सि.डि. रेसियो भित्र बसेमा तरलताको समस्या नआउने बताए । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले वित्तीय क्षेत्र सुधार कार्यक्रमले धराशायी हुनबाट जोगाएको यो बैंकको अहिले सबै वित्तीय परिसुचकहरु सन्तोषजनक अवस्थामा रहेको बताए । उनले २०७३ पुस मसान्तसम्म बैंकले एक खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेको बताए । श्रेष्ठका अनुसार, राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले एक अर्ब ३० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत बर्ष पौष मसान्तमा यस्तो मुनाफा एक अर्ब नौ करोड रुपैयाँ थियो । त्यस्तै, बैंकले खराब कर्जाको अनुपात ३ प्रतिशतको हाराहारीमा राख्न सफल भएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी गराए । 

आज भन्दा ५१ वर्षअघि २०२२ साल माघ १० गते मुलुकको आर्थिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको यो बैंक आज देशका ७५ जिल्लामध्ये ६८ जिल्लामा आफ्नो उपस्थिती जनाई देश र नागरिकको सेवामा समर्पित रहँदै आएको छ । हाल मुलुकभर बैंकका १७१ वटा शाखा कार्यालय, ९० वटा एटीएम, १७ स्थानमा एक्सटेन्सन काउन्टर र ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् भने २०७४ असार मसान्तसम्म थप १८ वटा शाखा कार्यालय, ४० वटा एटीएम र २५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याइने जानकारी बैंकका सईिओ श्रेष्ठले दिए ।  

कार्यक्रममा उत्कुष्ट शाखा कार्यालय, उत्कृष्ट कर्मचारी, पूर्व कर्मचारी सम्मान कार्यक्रम, २० वर्ष सेवा अवधि पुगेका कर्मचारीहरुलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो । कार्यक्रममा अमर प्रहरी उत्तम थापाको श्रीमती अन्जु थापालाई विमा वापतको १ लाख रुपैयाँ रकम हस्तान्तरण गरिएको थियो भने काडमाडौं महानगरपालिकालाई यूएन पार्क निर्माणको लागि २० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो । 

कार्यक्रममा माननीय उप–प्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराको प्रमुख स्वकिय सचिव हिमाल शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको बैंक संचालक समितिका सदस्यहरु, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौला, नागरिक लगानी कोषका कार्यकारी निर्देशक राम कृष्ण पोखरेल, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, रावा बैंकका नायव प्रमुख कार्यकारी अधिकृतद्धय बिष्णु प्रसाद बैद्य, भुपेन्द्र पाण्डे, नायव महाप्रवन्धकहरु सुशिल श्रेष्ठ, कविराज अधिकारी, केशब प्रसाद लम्साल, टेकराज जोशी, विभागिय प्रमुखहरु लगायत कर्मचारीहरुको भब्य उपस्थिती रहेको थियो ।