
बैंकिङ खबर / हालै नेशनल लघुवित्त बित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष नियुक्त हुनुभएको सञ्चालक रबिन सिजापतीले एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ। यस वित्तीय संस्थाको सञ्चालक समितिका संस्थापक अध्यक्ष तथा बरिष्ठ अर्थविद केशवप्रसाद आचार्यको यहि मिति २०८२ चैत्र ९ गते असामयिक निधन भए पश्चात् मिति २०८२ चैत्र २४ गते बसेको सञ्चालक समितिको २०१ औं बैठकको निर्णयानुसार सञ्चालक रबिन सिजापतीलाई अध्यक्षमा चयन गर्ने निर्णय भएको थियो।
उक्त सपथ ग्रहण समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुवर यादवले संस्थाको बर्तमान अवस्थाका बारे संक्षिप्त जानकारी गराउनु भयो। जस अन्तर्गत संस्थाले आफ्नो स्थापनाको १२ औं बर्षमा आईपग्दा हिमाल, पाहाड र तराईका कुल ७४ वटा जिल्लाहरुमा रहेका आफ्ना १८५ वटा शाखा कार्यालयहरु मार्फत गरिव तथा विपन्न बर्गका करिव २ लाख ६० हजार सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गरिरहेको, कुल लगानीमा रहेको कर्जा रकम रु.२७ अर्व भन्दा बढी भएको, बचत संकलन रु.६ अर्व भन्दा बढी भएको र संस्थामा करिव ९०० जना कर्मचारीहरु कार्यरत रहेको बारे जानकारी गराउनु भयो।
नव नियुक्त अध्यक्ष रबिन सिजापतीले संस्थाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका नीति तथा निर्देशन हरुको कार्यान्वयनलाई कडाईका साथ कार्यान्वयन गर्दै आइरहेको बताउदै आउदा दिनहरुमा यस लाई थप प्रभावकारी बनाउदै लैजाने बताउनु भयो।अन्त्यमा, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले संस्थाको विभिन्न सूचकहरु हेर्दा संस्था राम्रो अवस्थामा रहेको र यसलाई थप राम्रो बनाउदै लैजान आग्रह गर्दै नयाँ अध्यक्ष चयन हुनु भएकोमा रबिन सिजापतीलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भयो।



