२०८२ पुष ११ गते

रामबुद्ध माध्यमिक विद्यालयमा न्यानो लुगा (ट्रयाकसुट) वितरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर / कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ स्थित रामबुद्ध माध्यमिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएको छ। आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड, बुटवल-१०, रूपन्देहीको सौजन्यमा आज एक विशेष समारोहका बीच विद्यार्थीहरूलाई जाडो मौसमका लागि ट्रयाकसुट वितरण गरिएको हो।

पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरूलाई लक्षित गरी विभिन्न साइज का १११ थान न्यानो लुगा (ट्राक सुट) कपडाहरू वितरण गरियो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि नगर प्रमुखले शिक्षा क्षेत्रमा निजी तथा वित्तीय संस्थाहरूले पुर्‍याएको यो योगदानको उच्च प्रशंसा गरेन।

कार्यक्रममा आरएसडीसी लघुवित्त वित्तीय संस्था कोहलपुर शाखाका शाखा प्रबन्धक शंकर भट्टराई विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। उनले संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको बताए।
​त्यसैगरी, कार्यक्रममा पुनर्वास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहनलाल रानाले विशेष अतिथिको रूपमा मन्तव्य राख्दै विद्यालय र समुदायको विकासमा यस्ता सहकार्यहरू निरन्तर रहनुपर्नेमा जोड दिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, कर्मचारी, ठूलो संख्यामा अभिभावकहरू र विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यालय परिवारले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गरेकोमा आरएसडीसी लघुवित्त वित्तीय संस्थाप्रति आभार व्यक्त गर्दै संस्थालाई सम्मान पत्र समेत प्रदान गरेको छ ।