सरकारले परिमार्जित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान वितरण कार्य्विधि प्रमाणित गरेपछि भूकम्पपीडितले रू. तीन लाख पाउने बाटो खुलेको छ । गत साउन १९ गते पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि पीडितलाई रू. एक लाख थप गरी रू. तीन लाख अनुदान दिने प्रतिबद्धता दिएका थिए । गत कात्तिक र मङ्सिरमा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले प्रतिबद्धतालाई निर्णयमा बदलेको थियो ।
प्राधिकरण निर्देशक समितिको बैठकको निर्णयलाई गत बिहीवारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो । स्वीकृत निर्णय बुधवार प्रमाणित भएपछि भूकम्पपीडितले रू. तीन लाख पाउने गरी कार्य्विधि तयार भएको प्राधिकरणका प्रवक्ता डा भीष्मकुमार भुसालले बताए । ‘यसअघिको कार्य्विधिमा पहिलो किस्ता रू. ५० हजार, दोस्रो किस्ता रू. ८० हजार र तेस्रो किस्ता रू. ७० हजार गरी रू. दुई लाख दिने व्यवस्था थियो, अहिलेको कार्य्विधिमा पहिलो किस्ता रू. ५० हजार, दोस्रो किस्ता रू. एक लाख ५० हजार र तेस्रो किस्ता रू. एक लाख दिने व्यवस्था छ’ – उनले भने ।
भूकम्पले क्षति पुगी मर्मत सम्भार एवम् प्रबलीकरण (रेक्टोफिटिङ) गरी बस्न सकिने घरलाई रू. एक लाख अनुदान दिने व्यवस्था परिवर्तित कार्य्विधिमा छ । भूकम्पले घर पूर्ण क्षति भई पुनर्निर्माण गरिसकेका घरधनीलाई एकमुष्ट अनुदान रू. तीन लाख वितरणका लागि प्राविधिक परीक्षण निर्दे्शिका समेत बनेको प्रवक्ता भुसालले बताए । पुनर्निर्माण भइसकेका घर भूकम्प प्रतिरोधी भएको सिफारिस सहरी विकास मन्त्रालयअन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइबाट खटिएका इञ्जिनियरले गरेपछि रू. तीन लाख एकमुष्ट दिइने निर्दे्शिकामा उल्लेख छ । कार्य्विधिमा गुनासो सुनुवाइसम्बन्धी व्यवस्थासमेत गरिएको छ ।रासस