नेपाल एसबीआई बैंकको एफपिओमा झन्डै ७३ गुणा बढी आवेदन परेको छ । बैंकले ६ करोड ५८ लाख रुपैयाँ बराबरको सेयरका लागि आवेदन माग गरेकोमा चार अर्ब ८२ करोड रुपैयाँ बढीको आवेदन परेको हो । एफपिओमा ५७ हजार ७० आवेदकबाट सो आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।
बैंकले पुस ११ गतेदेखि पुस १४ सम्म १०० रुपैयाँ अंकित मूल्यमा ८७१ रुपैयाँ प्रिमियम थप गरी ९७१ रुपैयाँ प्रति कित्तामा ६७ हजार ७६७ कित्ता नयाँ सेयरका लागि आवेदन माग गरेको थियो । बैंकले संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि ६७ हजार ७६७ कित्ता सेयरको नयाँ निष्काशन गरेको जनाएको छ ।
३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकको एफपिओ जारी गरेपछि चुक्तापुँजी तीन अर्ब ८९ करोड रुपैयाँ नाघ्नेछ । यसबाहेक, बैंकले २८ प्रतिशत बोनस सेयर समेत जारी गर्दैछ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी चार अर्ब ९७ करोड रुपैयाँ पुग्नेछ । साथमा बैंकले ४० प्रतिशत हकप्रद सेयर समेत जारी गर्दैछ । एफपीओ पाएलगत्तै लगानीकर्ताले बोनस र हकप्रद समेत भर्न पाउनेछन् ।


