Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आधा दर्जन वित्तीय संस्था मिलेर ३३ मेगावाट विद्युत् उत्पादन गर्दै 

२०७३ पुष १७ गते

लिखु–२ जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा विभिन्न छवटा वित्तीय संस्थाले रु चार अर्ब ५१ करोड लगानी गर्ने भएका छन् । आयोजनामा माछापुच्छ्रे बैंकलगायत मेगा बैंक, नेपाल एसबिआई बैंक, नेपाल बङ्गलादेश बैंक, एभरेष्ट बैंक र भिवोर सोसाइटी डेभलपमेण्ट बैंकले संयुक्तरुपमा लगानी गर्ने सम्झौता भएको हो । 

लगानीसम्बन्धी सम्झौतामा प्रवद्र्धक कम्पनी र बैंकबीच केही दिन पहिले सम्झौता भएको प्रवद्र्धकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरूको तर्फबाट माछापुच्छ्रे बैकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र प्रवद्र्धक ग्लोबल हाईड्रोपावर एसोसिएटका तर्फबाट अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गर्नुभएको थियो । आयोजनाको कुल लागत रु छ अर्व दुई करोड लाग्ने अनुमान गरिएको छ जसमध्ये ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको र २५ प्रतिशत प्रवद्र्धकको लगानी रहनेछ ।

ग्लोबल हाइड्रोपावर एसोसिएटले अगाडि बढाएको सो आयोजनाको क्षमता ३३ मेगावाट रहेको छ । रामेछाप जिल्लाको गुम्देर र सोलुखुम्बु जिल्लाको भकाञ्जेमा आयोजना स्थल रहेको आयोजनाबाट वार्षिक १८ करोड २५ लाख ९० हजार युनिट विद्युत उत्पादन हुनेछ । उक्त आयोजना विसं २०७७ साल भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ । रासस