हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । बीमा समितिमा अध्यक्ष नियुक्तिको चर्चा साताभर रह्यो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
बीमा समितिमा अध्यक्ष नियुक्तिको विवाद
अर्थमन्त्रीले बीमा समितिको अध्यक्ष विहिबार नियुक्त गर्ने तयारी थियो । तर, विवादका कारण नियुक्ति प्रक्रिया अल्झियो । अर्थमन्त्री पोखरा विश्वविद्यालयका प्राध्यापक डा. रविन्द्र घिमिरेलाई नियुक्त गर्ने तयारीमा छन् । सरोकारवालाहरुले पनि बीमा बुझेको व्यक्तिलाई ने अध्यक्ष बनाउनुपर्ने माग राख्दै आएका छन् । घिमिरे नै समिति अध्यक्षमा नियुक्त हुने पक्का भइसकेको तर औपचारिक निर्णय भने भइ नसकेको स्रोतको भनाइ छ ।
आन्दोलनमा सेयर लगानीकर्ता
सेयर लगानीकर्ता संघले बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने लगायतका माग राख्दै आन्दोलन सुरु गरेको छ । संघले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई छ बुँदे मागपत्र बुझाउँदै शान्तिपूर्ण आन्दोलन सुरु गरेको हो । आफ्ना मागहरुलाई सम्बोधन गर्न संघले नेप्सेलाई पुस १७ गतेसम्मको अल्टिमेटम दिएको छ । संघले बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्ने, ब्रोकरहरुको शाखा विस्तार गर्नुपर्ने, अनलाईन ट्रेडिङ यथाशीघ्र कार्यान्वयनमा ल्याउनुपर्ने, हकप्रद, बोनस, मर्जर र सुचीकृत नीति स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने र गैर आवासीय नेपालीलाई पूँजी बजारमा ल्याउन पहल गर्नुपर्ने माग अघि सारेको छ ।
इन्नोभेटिभ र अरनिकोलाई किन्न सेञ्चुरीलाई अनुमति
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गर्ने अनुमति पाएको छ । राष्ट्र बैंकले इन्नोभेटिभ र अरनिकोलाई एक्वायर गर्न बुधबार सैद्धान्तिक सहमति दिएको हो ।
आरबीआईमा नयाँ डेपुटी गभर्नर
भारतीय रिजर्भ बैंक (आरबीआई)को नयाँ डेपुटी गभर्नरमा विरल आचार्य नियुक्त भए । न्यूयोर्क विश्वविद्यालयका स्टर्न बिजनेस स्कूलमा प्रोफेसर रहेका उनले उनी उर्जित पटेलको ठाउँ लिएका हुन् । उर्जित पटेल आरबीआईको गभर्नर बनिसकेका छन् । विरल आचार्यको नियुक्ति सयभन्दा बढी व्यक्तिहरुमध्येबाट गरिएको हो, जसले डेपुटी गभर्नरका लागि आवेदन दिएका थिए ।
सुधीर बस्नेत पक्राउ
दर्जनौँ बैंक तथा वित्तीय संस्थाको ऋण नतिरि फरार रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेत पक्राउ परे ।सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय र महाराजगन्ज प्रहरी वृत्तबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बस्नेतलाई मंगलबार राति ११ बजे धापासीबाट पक्राउ गरेको हो । प्रहरीको घेरामा परिसकेपछि पनि बस्ने भाग्न खाजेपछि प्रहरीले गोली समेत चलाएको थियो । भाग्ने क्रममा प्रहरीले पक्राउ गर्न खोज्दा बस्नेत आफै लडेर देब्रे हातमा चोट लागेको छ । सामान्य उपचारपछि उनलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा हाजिर गराएको डिएसपी पुरीले बताए । त्यसपछि अहिले बस्नेतलाई महाराजगञ्ज वृत्तमा राखिएको छ ।
नेपाल लाइफलाई एफपिओ निष्काशनको अनुमति
एफपिओ निष्काशनका लागि नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पायो । इन्स्योरेन्स कम्पनीले धितोपत्र बोर्डबाट १४ सय २५ मा एफपिओ निष्काशन गर्न अनुमति पाएको हो । बोर्डले अनुमति दिए पछि इन्स्योरेन्स कम्पनीले ३० लाख ९६ हजार भन्दा बढी कित्ता एफपिओ निश्काशन गर्ने तयारी गरेको छ । १६ औं बार्षिक साधरणसभा मार्फत एफपिओ निश्कासन गर्ने निर्णय गरेको नेपाल लाइफ इन्स्योरेन्सले अतिरिक्त एफपिओ निष्काशन गर्न धितो पत्र बोर्ड मार्फत अनुमति पाएको हो । एफपिओ निष्काशन पछि नेपाल लाईफको चुक्ता पूँजी २ अर्ब ४७ करोड भन्दा बढी हुनेछ ।
एसबिआई बैंकको एफपिओ
नेपाल एसबिआई बैंकले पुस १० गतेदेखि फर्दर पब्लिक अफरिङ (एफपिओ) निष्काशन गर्यो । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ८७१ रुपैयाँ प्रिमियम थप गरी ९७१ रुपैयाँ प्रति कित्तामा एफपिओ जारी गरेको हो । बैंकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०ः३० कायम गर्नका लागि ६७ हजार ७६७ कित्ता सेयरको नयाँ निष्काशन गरेको हो ।
सगरमाथा फाइनान्सको हकप्रद निष्काशन
सगरमाथा फाइनान्स लिमिटेडले ८० प्रतिशत अर्थात १० बराबर आठको अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २९ करोड ५४ लाख रुपैयाँ बराबरको २९ लाख ५४ हजार ३९० कित्ता सेयर निष्काशन गरेको हो । उक्त हकप्रदका लागि पुस ११ गतेदेखि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर २३ गतेसम्म कायम सेयरधनीले मात्रै उक्त हकप्रद भर्न पाउनेछन् । फाइनान्सको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स रहेको छ । सेयरधनीले एनआईबीएल क्यापिटल मार्केट्स र सगरमाथा फाइनान्सका शाखा कार्यलयहरुबाट हकप्रद सेयर आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।
शाखा विस्तार
नेपाल बंगलादेश बैंकले रुकुम र कंचनपुरमा २ नयाँ शाखा सञ्चालनमा ल्यायो । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले थाहा–१३, बज्रवाराही, मकवानपुरमा आफ्नो ७ औं शाखा कार्यालयको स्थापना गर्यो ।
नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले बुधबार २५ करोड रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्यो भने साताको सोमबार १० अर्ब ४५ करोडको ट्रेजरी बिल विक्री गर्यो ।
अन्य
छिमेक लघुवित्त विकास बैंकको १५ बार्षिक साधारणसभाले ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय पारित गर्यो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धितोपत्र दरखास्त संकलनको कार्य गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गर्यो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले जनरल फाइनान्स लिमिटेडसंग विद्युतीय चेक क्लियरिङ्ग प्रणाली सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्यो । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक ’सेयरबाट करोडपति’को तेस्रो संस्करण बजारमा आयो ।




