
बैंकिङ खबर/ नेपाल चेम्बर अफ कमर्सले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ लाई अव्यवहारिक, लगानी प्रतिकूल र सेयर बजारमा अनिश्चितता पैदा गराउने ठहर गरेको छ।
सीडीएससीले अभौतिकीकृत धितोपत्रहरूलाई संस्थापक र सर्वसाधारणका लागि फरक आईएसआईएन (आइजिन) नम्बर दिने व्यवस्था र लकिङ पिरियडपछि संस्थापक सेयर स्वतः सर्वसाधारण सेयरमा रूपान्तरण नहुने व्यवस्थालाई चेम्बरले गम्भीर रूपमा लिएको छ।
चेम्बरका अनुसार यस्तो निर्देशिका लागू भएमा सेयर बजारमा दीर्घकालीन नकारात्मक असर पर्ने, लगानीकर्ताको विश्वास कमजोर हुने, र विशेष गरी ऊर्जा, सिमेन्ट, होटल, उत्पादनमूलक उद्योग तथा मिडिया क्षेत्रहरूमा प्रतिकूल प्रभाव पर्ने सम्भावना छ। चेम्बरले यस्तो व्यवस्था अन्तर्राष्ट्रिय मान्यता र प्रचलित अभ्यासको विपरीत भएको बताएको छ।
चेम्बरले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्देशिका लगानीकर्ताको हितविपरीत जान्छ र नेपालको परिपक्व नबनेको पूँजीबजारमा यस्ता व्यवस्थाले लगानीको वातावरणमा अन्योलता र असुरक्षा थप्नेछ।” चेम्बरले उल्लेख गरेअनुसार, केही वर्षदेखि सीडीएससीले सेयर अभौतिकीकरणको प्रक्रिया रोकेको अवस्थामा हाल निर्देशिका ल्याएर संस्थापक सेयरमा स्वतः रूपान्तरण रोकिने र वर्गीकरणमा अलग–अलग आइजिन नम्बर दिने निर्णयले सेयर बजारमा विश्वासको संकट निम्त्याएको छ।
नेपालको सेयर बजार अझै लगानीमैत्री बन्न नसकेको अवस्थामा सीडीएससीजस्तो नियामक संस्थाले स्वयंले बनाएका मापदण्ड उल्ट्याउँदै नयाँ व्यवस्था ल्याउनुले बजारमा नकारात्मक मनोविज्ञान बढाएको चेम्बरले जनाएको छ। चेम्बरले यो निर्देशिकालाई तत्काल संशोधन गरी व्यावहारिक तथा लगानीमैत्री बनाउने माग गर्दै सरकार र नियामक निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ।



