Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

‘राष्ट्र बैंकमा पैसा राखेर बैंकहरू बस्न हुँदैन’

२०८२ असार १८ गते

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा अधिक तरलता भएसँगै राष्ट्रले धमाधाम रकम खिचिरहेको छ । बुधबार पनि राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ तानेको छ । यसअघि असार १ गते ४० अर्ब, असार ४ गते ९० अर्ब, असार ८ गते ६० अर्ब, असार ११ गते ५० अर्ब, र असार १५ गते ३० अर्ब रुपैयाँ बराबरको तरलता राष्ट्र बैंकले तानेको थियो ।

यसैबीच नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बैंकहरूले राष्ट्र बैंकमा पैसा राखेर बस्ने प्रवृत्तिले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई नै घाटा पु¥याउने बताउँछन् ।

उनका अनुसार अहिले बैंकहरू राष्ट्र बैंकले ३ प्रतिशत ब्याजमा निक्षेप तानेको भन्दै ढुक्क भएर बसिरहेका छन्। तर यस्तो प्रवृत्तिले न त बैंकहरूको दीगो फाइदा हुन्छ न त देशको आर्थिक गतिशीलता कायम रहन्छ ।

‘राष्ट्र बैंकमा पैसा राख्नु भनेको घाटा गर्नु हो,’थापा भन्छन्, ‘बाहिर लगानी गर्दा बैंकलाई फाइदा हुन्छ, र अर्थतन्त्र पनि चलायमान बन्छ ।’
थापाका अनुसार बैंकहरूले लगानी बढाउनुपर्ने बेला हो। तर केवल बैंकहरूको प्रयास मात्र नभइ कर्जाको माग बढाउन सरकारले पनि समन्वय गर्नुपर्ने उनको सुझाव छ ।

‘लगानी भएको भए रोजगारी सिर्जना हुने थियो, उत्पादन बढ्ने थियो, आर्थिक वृद्धिदर उच्च हुने थियो,’ उनले भने,‘यसले राजस्व बढाउने मात्र होइन, सरकारलाई पनि बलियो बनाउने थियो ।’

यसैबीच नेपाल राष्ट्र बैंकले कर्जाको माग किन घटिरहेको छ भन्नेबारे गहिरो अध्ययन थालेको छ। बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलमार्फत राष्ट्र बैंकले यस विषयमा कारण पहिचान गरी समाधानका उपाय खोज्न लागेको अधिकारीहरूले जनाएका छन्।