
बैंकिङ खबर / सारथी इक्विटी फण्ड लिमिटेडले शेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको दोस्रो वार्षिक साधारण सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
काठमाडौंको गौशालास्थित होटल बद्रीनाथमा सम्पन्न सभाले आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ । सभाले स्वतन्त्र सञ्चालकमा भवानी घिमिरे (थापा) को नियुक्तिलाई अनुमोदन गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
कम्पनीका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न सभामा कम्पनीको वित्तीय अवस्था, लगानी व्यवस्थापन र भावी व्यावसायिक योजनाबारे छलफल भएको थियो । शेयरधनीहरूले उठाएका जिज्ञासाको जवाफ प्रबन्ध सञ्चालक कोषराज सुवेदीले दिएका थिए । सभाको सञ्चालन कम्पनी सचिव अस्मिता गौतमले गरेकी थिइन् ।
साधारण सभामा कम्पनीले आगामी दिनमा लगानीको दायरा विस्तार गर्ने योजनासमेत अघि सारेको छ । कम्पनीका अनुसार सम्भावनायुक्त परियोजना पहिचान गरी पुँजी परिचालन गर्ने, लगानी पोर्टफोलियो विविधीकरण गर्ने तथा जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउने रणनीति लिइएको छ ।
यसैक्रममा कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलसम्बन्धी इजाजतपत्र लिएर लगानीका नयाँ क्षेत्र विस्तार गर्ने योजना बनाएको छ । नवीन प्रविधिमा आधारित व्यवसाय, नवप्रवर्तनशील उद्यम तथा दिगो विकासको सम्भावना भएका क्षेत्रमा लगानी गर्ने कम्पनीको तयारी छ ।
कम्पनीको सञ्चालक समितिमा अध्यक्ष न्यौपानेसहित ई. राजीव पौडेल र डा. हिमाल भट्टराईलगायत रहेका छन् । कम्पनीले लगानीका नयाँ अवसर पहिचान र सम्भावनायुक्त परियोजनामा पुँजी परिचालनमार्फत दीर्घकालीन मूल्य अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।