Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आम्दानी खुम्चिँदा हिमालयन रिइन्स्योरेन्सको नाफा १० करोडमा सीमित

२०८३ कार्तिक ३० गते

बैंकिङ खबर / हिमालयन रिइन्स्योरेन्स लिमिटेडको खुद नाफामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा उल्लेख्य गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १० करोड ३६ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७.८२ प्रतिशत कम हो।

गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा कम्पनीले २४ करोड ५८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यस वर्ष कम्पनीको आम्दानीका प्रमुख स्रोतमा आएको संकुचनले नाफामा प्रत्यक्ष दबाब परेको देखिन्छ।

कम्पनीको मुख्य व्यावसायिक आम्दानीका रूपमा रहेको कुल बीमाशुल्क आर्जन पनि घटेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ११ करोड ८३ लाख रुपैयाँ रहेको कुल बीमाशुल्क आर्जन चालु आर्थिक वर्षको सोही अवधिमा ७२ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ। यसमा ३४.७३ प्रतिशतको गिरावट आएको हो।

त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन ४१.६२ प्रतिशतले घटेर ५९ करोड १ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

बीमाशुल्क आम्दानीसँगै लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानीमा समेत गिरावट आएको छ। गत वर्षको पहिलो त्रैमासमा २३ करोड ४० लाख रुपैयाँ आसपास रहेको यस्तो आम्दानी चालु वर्षमा २० करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। यसले कम्पनीको समग्र आम्दानीमा थप दबाब सिर्जना गरेको देखिन्छ।

वित्तीय विवरणअनुसार कम्पनीको कुल आम्दानी ३६.१७ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब २४ करोड ७२ लाख रुपैयाँ रहेको कुल आम्दानी चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर ७९ करोड ६० लाख रुपैयाँमा झरेको छ।

आम्दानी घटेसँगै कम्पनीको खर्चमा पनि कमी आएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा ९१ करोड ३ लाख रुपैयाँ रहेको कुल खर्च चालु वर्षको सोही अवधिमा ६५ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ। कुल खर्चमा २७.९४ प्रतिशतको गिरावट आएको भए पनि आम्दानीमा आएको ठूलो संकुचनका कारण नाफा भने जोगिन सकेन।

नाफामा आएको गिरावटसँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि प्रभावित भएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ९ रुपैयाँ ५ पैसा रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी चालु वर्षको समीक्षा अवधिमा घटेर ३ रुपैयाँ ८२ पैसामा झरेको छ।

समीक्षा अवधिसम्म कम्पनीको चुक्ता पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात १२५.५३ गुणा कायम भएको छ।

यसरी हेर्दा हिमालयन रिइन्स्योरेन्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय अवस्था बीमाशुल्क आर्जन, लगानी आम्दानी र समग्र आम्दानीमा आएको गिरावटका कारण दबाबमा देखिएको छ। खर्चमा समेत कटौती भए पनि आम्दानीको संकुचनलाई सन्तुलनमा राख्न नसक्दा कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ।

Ad