Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सात वर्षमा औसत १०.४० प्रतिशत प्रतिफल दिँदै सिटिजन्स म्युचुअल फण्ड–२ परिपक्व

२०८३ मंसिर १ गते

बैंकिङ खबर /  सिटिजन्स म्युचुअल फण्ड-२ ले सात वर्षे निर्धारित अवधि पूरा गर्दै इकाईधनीलाई रकम फिर्ता गर्न सुरु गरेको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त बन्दमुखी सामूहिक लगानी कोष योजनाले सञ्चालन अवधिभर इकाईधनीलाई औसत वार्षिक १०.४० प्रतिशत नगद प्रतिफल प्रदान गरेको हो ।

५६ करोड रुपैयाँ कोष आकार रहेको यो योजना २०७६ असार २२ गतेदेखि सञ्चालनमा आएको थियो । सात वर्षे अवधि पूरा गर्दै २०८३ असार २१ गते परिपक्व भएको योजनाले त्यसपछि खारेजी प्रक्रिया अघि बढाएको थियो । अहिले खारेजीसम्बन्धी प्रक्रिया सम्पन्न भएसँगै इकाईधनीलाई फिर्ता गर्नुपर्ने रकम वितरण सुरु गरिएको सिटिजन्स क्यापिटलले जनाएको छ ।

सात वर्षको अवधिमा नेपाली धितोपत्र बजारले विभिन्न उतारचढाव र चुनौतीपूर्ण अवस्थाको सामना गरे पनि योजनाले इकाईधनीलाई नियमित नगद प्रतिफल दिन सफल भएको कम्पनीको भनाइ छ । बजार मूल्यमा आएको गिरावट र लगानी वातावरणमा देखिएका चुनौतीबीच औसत वार्षिक १०.४० प्रतिशत प्रतिफल दिनुलाई कम्पनीले आफ्नो लगानी व्यवस्थापन क्षमताको उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।

यसअघि परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड-१ मार्फत पनि औसत वार्षिक १२ प्रतिशत प्रतिफल प्रदान गरिएको कम्पनीले जनाएको छ । दुई योजनाको प्रतिफलले सिटिजन्स क्यापिटलको सामूहिक लगानी कोष व्यवस्थापनसम्बन्धी अनुभव र कार्यसम्पादनलाई देखाउने कम्पनीको दाबी छ ।

यसैबीच, सिटिजन्स क्यापिटलले अर्को बन्दमुखी सामूहिक लगानी कोष योजना ‘सिटिजन्स सुपर ५०’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त उक्त योजनाको इकाई निष्काशन मंसिर २ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ ।

१० वर्षे अवधि रहने सिटिजन्स सुपर ५० को प्रारम्भिक आकार १ अर्ब रुपैयाँ तोकिएको छ । माग तथा आवेदनको अवस्थाअनुसार योजनाको आकार अधिकतम १ अर्ब २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने व्यवस्था छ । योजनामा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले इकाई खरिदका लागि आवेदन दिन सक्नेछन् ।

सिटिजन्स क्यापिटलले हाल सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, सिटिजन्स सदाबहार योजना र सिटिजन्स सन्तुलित योजना लगायतका सामूहिक लगानी कोष योजनासमेत व्यवस्थापन गर्दै आएको छ । कम्पनीले विगतका योजनाबाट प्राप्त अनुभव र संस्थागत क्षमताको उपयोग गर्दै नयाँ योजनाको लगानी व्यवस्थापनलाई व्यवस्थित तथा व्यावसायिक बनाउने लक्ष्य राखेको जनाएको छ ।

Ad