Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वाभिमान लघुवित्तको पुँजी दोब्बर बनाउने प्रस्ताव, मर्जर पनि एजेन्डामा

२०८३ कार्तिक १४ गते

बैंकिङ खबर / स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजी वृद्धि गर्ने योजनासहित दशौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव सभामा पेस गर्ने भएको छ ।

संस्थाको सञ्चालक समितिको निर्णयअनुसार दशौँ वार्षिक साधारण सभा आगामी मंसिर १४ गते सोमबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, ड्राइभरटोलस्थित द एसआर होटलमा बिहान ११ बजे बस्नेछ ।

सभामा संस्थाको हाल कायम १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँ चुक्ता पुँजीका आधारमा १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पेस हुनेछ । प्रस्ताव पारित भई नियामकीय स्वीकृति प्राप्त भएमा योग्य सेयरधनीले आफूसँग रहेको प्रत्येक एक कित्ता सेयर बराबर थप एक कित्ता हकप्रद सेयर खरिद गर्न पाउनेछन् ।

हकप्रद सेयर जारी गर्ने प्रस्तावसँगै संस्थाको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ ।

त्यसैगरी, अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने वा कुनै संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेस हुनेछ । मर्जर तथा प्राप्तिसम्बन्धी आवश्यक प्रक्रिया र निर्णयका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने संस्थाको योजना छ ।

सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । सोही आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित वित्तीय विवरण स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत सभामा पेस हुनेछ ।

संस्थाले साधारण सभा प्रयोजनका लागि कात्तिक २० गते सेयरधनी दर्ता किताब बन्द गर्ने जनाएको छ । त्यसअनुसार कात्तिक १९ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई प्रचलित व्यवस्थाअनुसार सेयर नामसारी भएका सेयरधनीले साधारण सभामा सहभागी हुन तथा मतदान गर्न पाउनेछन् ।

यसअघि संस्थाले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । लाभांश प्रस्ताव नरहेको अवस्थामा संस्थाले पुँजी वृद्धि र सम्भावित मर्जरलाई आगामी साधारण सभाको प्रमुख एजेन्डा बनाएको छ ।

Ad