December 23rd, 2016

हेर्नुहोस्, साताभर चर्चामा रहेका आठ बैंकिङ खबरहरु

हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :

मर्जरका लागि राष्ट्र बैंकको स्वीकृति
लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई खरिद गर्न अन्तिम स्वीकृति पायो । विहीबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले लक्ष्मीलाई प्रोफेसनल दियालो खरिद गर्न स्वीकृति प्रदान गरेको हो । सोही बैठकले त्रिवेणी विकास बैंकलाई गाभ्न जनता बैंकलाई सैद्धान्तिक सहमति दियो । तीन अर्ब चुक्तापुँजी रहेको लक्ष्मी बैंकले २४ करोड चुक्तापुँजी भएको प्रोफोशनल दियालो र दुई अर्ब चुक्तापुँजी भएको जनता बैंकले ८२ करोड चुक्तापुँजी भएको त्रिवेणीलाई गाभ्ने अनुमति पाएका हुन् । 

सिनर्जी पावरको आइपिओ खुल्यो
सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २१ लाख कित्ता साधारण सेयर निष्काशन गर्यो । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको सेयर शुक्रबार (पुस ८ गते) देखि निष्काशन गरेको हो । मंसिर २३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले छिटोमा पुस १२ गते र ढिलोमा पुस २२ गतेसम्म सेयर निष्काशन गर्नेछ । निष्काशन भएको कुल २१ लाख कित्तामध्ये तीन प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने पाँच प्रतिशत सेयर सामुहिक लगानी कोषहरुलाई बितरण गरिएको छ । बाँकी १९ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले न्युनतम ५० कित्तादेखि २१ हजार कित्तासम्मका लागि आवेदन गर्न सक्ने बताइएको छ । ७० करोड चुक्ता पुँजी भएको कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका सम्बन्धित गाउँ बिकास समितिका जनतालाई बिक्री गरि सकिएको छ । बाँकी ३० प्रतिशत सेयर देशभरका सर्वसाधारणका लागि विक्री गर्न लागिएको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । नक्सालस्थित सानिमा क्यापिटलको कार्यालय, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको कार्यालय र सानिमा बैंकका सबै शाखाहरुमार्फत आवेदन दिन सकिनेछ । कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको अवस्था कमजोर रहेको संकेत गर्छ ।

प्रभु बैंकको सेयर कारोबार फुकुवा
बिहीबार बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समिति बैठकले प्रभु बैंकको सम्पूर्ण सेयर कारोबार फुकुवा गर्ने निर्णय गर्यो । बैठकले ग्राण्ड बैंकलाई गाभेको प्रभु बैंकको सम्पूर्ण सेयर कारोबार फुकुवाको लागि नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्ने निर्णय गरेको हो । आगामी सातादेखि प्रभु बैंकको सम्पूर्ण कारोबार खुल्नेछ । आगामी सातादेखि खुल्ने भएको छ । कारोबार यसअघि प्रभु बैंकतर्फको मात्र कारोबार फुकुवा गरेर ग्राण्डतर्फको रोकेपछि धितोपत्र बोर्डले प्रभुको पनि कारोबार रोकेको थियो । साविकको ग्राण्ड बैंक र प्रभु बैंक एक आपसमा गाभिएर गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको थियो ।

बीमा समितिमा अध्यक्ष पद रिक्त
बीमा समितिमा अध्यक्षको पद बिहिबारबाट रिक्त भयो । बीमा समितिका निवर्तमान अध्यक्ष प्रा.डा.फत्त बहादुर केसीको कार्यकाल सकिएपछि बीमा समितिको अध्यक्ष पद रिक्त बनेको हो । रिक्त अध्यक्षको पदमा कसलाई ल्याउने भन्ने सरकारले अझै टुंगो लगाउन सकेको छैन । रिक्त भएको अध्यक्ष पदका लागि झण्डै दुई दर्जन आकांक्षी देखिएका छन् । वर्तमान अध्यक्षको कार्यकाल सकिनु पूर्व एक महिना अगाडी देखिनै भावी अध्यक्षका लागि दुई दर्जन आकांक्षीले तीब्र रुपमा दौडधुप गरिरहेका छन् ।

समस्याग्रस्त संस्थाको सूचीबाट हट्यो जनरल फाइनान्स
जनरल फाइनान्स लिमिटेड समस्याग्रस्त संस्थाको सूचीबाट हट्यो । नाजुक वित्तीय अवस्थाका कारण ३ वर्षअघि समस्याग्रस्त घोषित भएको जनरल फाइनान्सलाई राष्ट्र बैंकले वित्तीय अवस्थामा सुधार आएको भन्दै समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको हो । ०७० देखि फाइनान्सले निक्षेप परिचालन र कर्जा लगानी गर्न पाएको थिएन । फाइनान्सले विहीबार (पुस ७ गते) देखि औपचारिक रूपमा पुनः वित्तीय कारोबार सुरु गरेको छ ।  

नेपाल बैंकका चार शाखा पुनःस्थापित
नेपाल बैंक लिमिटेडले द्धन्द्धकालमा विस्थापित भएका चार शाखाहरुको पुनःस्थापना गर्यो । बैंकले स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा, तनहुँ जिल्लाको खैरनीटार स्थित खैरनीटार शाखा, बाँके जिल्लाको कोहलपुर स्थित कोहलपुर शाखा तथा वाग्लुङ्ग जिल्लाको हरिचौर स्थित गलकोट शाखा यसै सातादेखि विधिवत रुपमा सञ्चालनमा ल्याएको हो । हालै पुनस्थापित शाखाहरु सहित नेपाल बैंकको शाखा संख्या १३० पुगेको छ ।

विश्व बैंकले लगानी बढायो
विगत १८ वर्षदेखि सञ्चालनमा रहेको सडक क्षेत्र विकास परियोजना कार्यान्वयनका लागि थप पाँच अर्ब ९४ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन विश्व बैंक सहमत भयो । अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख वैकुण्ठ अर्याल र विश्व बैंकका देशीय प्रबन्धक ताकुया कामाताले सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार उक्त रकम परियोजनाअन्तर्गतका सडक र पुल विकास, संस्थागत सवलीकरण तथा परियोजना कार्यान्वयन र सवलीकरण अभिवृद्धिमा खर्च गरिने जनाइएको छ । परियोजनाका समयमा विभिन्न २१ वटा क्रियाकलाप गरिने र परियोजनाको समाप्तिसँगै विभिन्न ३१ जिल्लामा बाह्रै महिना सडक पहुँच, यात्रा समयमा कटौती र आर्थिक केन्द्रको सुधार तथा सामाजिक सेवा पुग्ने विश्वास लिइएको छ । परियोजना कार्यान्वयका क्रममा ७०० किमी सडकको स्तरोन्नति र दुई हजार ५५० किमी रणनीतिक सडक मर्मत गरिने अर्थमन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गको सडक विभागले कार्यान्वयन गर्ने उक्त आयोजनामार्फत गत वर्षको भूकम्पमा भत्किएका पुल एवम् विभिन्न ३३ वटा रणनीतिक पुल प्रतिस्थापन गरिने छ ।

नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले विहीबार बैंक तथा फाइनान्स कम्पनीहरुबाट पाँच अर्ब रुपैयाँ निक्षेप संकलन गर्यो । त्यस्तै, बुधबार राष्ट्र बैंकले बैकिङ प्रणालीबाट एक अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्यो भने साताको सोमबार १२ अर्ब ५० करोड ५७ लाख ५० हजार रुपैयाँको ट्रेजरी बिल विक्री गर्यो । 

अन्य
पवित्र धार्मिक तिर्थस्थल तनहुँ र चितवनको सिमानामा पर्ने देवघाटमा रहेको एक्टेसन काउन्टर मार्फत ज्योति विकास बैंक भरतपुर शाखाले पहिलो पटक एटीम सेवा सुरु गर्यो । यूके एड सक्षमको सहकार्यमा मनाङको चामेमा प्रभु बैंकले नयाँ शाखा सञ्चालनमा ल्यायो । कृषि विकास बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बेसडरमा हास्य कलाकारद्धय दिपकराज गिरी र दीपाश्री निरौलालाई नियुक्त गर्यो । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले, पोखरा फाइनान्स लिमिटेडसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता गर्यो । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि.बीच रेमिट्यान्स सम्झौता सम्पन्न भयो । नेपाल क्रेडिट एण्ड कर्मस बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रा.लि बीच पनि रेमिट्यान्स सम्झौता भयो ।