लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई खरिद गर्न अन्तिम स्वीकृति पाएको छ । विहीबार बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठकले लक्ष्मीलाई प्रोफेसनल दियालो खरिद गर्न स्वीकृति प्रदान गरेको हो । प्रोफेशनल दियालो विकास बैंकको प्रति सेयर मूल्य लक्ष्मी बैंक लिमिटेडको प्रति सेयर मूल्यको ५० प्रतिशत रहने गरी यी दुई संस्थाबीच सहमति भएको छ ।
हाल लक्ष्मी बैंकको चुक्तापुँजी तीन अर्ब तीन करोड ९२ लाख रुपैयाँ छ भने १० जिल्ला कार्यक्षेत्र भएको प्रोफेशनल दियालो विकास बैंकको चुक्तापुँजी २४ करोड रुपैयाँ छ । प्रोफेसनल दियालोलाई प्राप्ति गरेपछि कायम हुन आउने पुँजीबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव बैंकको पन्ध्रौं वार्षिक साधारण सभाबाट पारित भइसकेको छ । उक्त एक्विजिसन र हकप्रद वितरणपछि बैंकको पुँजी साढे छ अर्ब पुग्नेछ ।


