December 23rd, 2016

आयो सिनर्जी पावरको २१ लाख कित्ता आईपिओ

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २१ लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा २१ करोड रुपैयाँ बराबरको सेयर शुक्रबार (पुस ८ गते) देखि निष्काशन गरेको हो । मंसिर २३ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीले छिटोमा पुस १२ गते र ढिलोमा पुस २२ गतेसम्म सेयर निष्काशन गर्नेछ । 

निष्काशन भएको कुल २१ लाख कित्तामध्ये तीन प्रतिशत सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने पाँच प्रतिशत सेयर सामुहिक लगानी कोषहरुलाई बितरण गरिएको छ । बाँकी १९ लाख ३२ हजार कित्ताका लागि सर्वसाधारणले न्युनतम ५० कित्तादेखि २१ हजार कित्तासम्मका लागि आवेदन गर्न सक्ने बताइएको छ । 
७० करोड चुक्ता पुँजी भएको कम्पनीले ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याएकोमा त्यसको १० प्रतिशत आयोजना प्रभावित दोलखा जिल्लाका सम्बन्धित गाउँ बिकास समितिका जनतालाई बिक्री गरि सकिएको छ । बाँकी ३० प्रतिशत सेयर देशभरका सर्वसाधारणका लागि विक्री गर्न लागिएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । नक्सालस्थित सानिमा क्यापिटलको कार्यालय, सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको कार्यालय र सानिमा बैंकका सबै शाखाहरुमार्फत आवेदन दिन सकिनेछ । 

कम्पनीको सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको अवस्था कमजोर रहेको संकेत गर्छ ।