Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कामना र सेवा मिलेर यसरी पुर्याए अढाई अर्ब पुँजी

२०७३ पुष ६ गते

पोखराको कामना विकास बैंक र बुटवलको सेवा विकास बैंकले मर्जरमा जाने सहमति गरेका छन् । यी दुई बैंक मर्जपछि राष्ट्रिय स्तरको विकास बैंकको रुपमा अर्को एउटा सशक्त विकास बैंक थपिने छ । ४२ करोड ५५ लाख रुपैयाँ चुक्तापुँजी भएको सेवा र ६६ करोड १६ लाख ४९ हजार रुपैयाँ चुक्तापुँजी भएको कामना गाभिएर बन्ने कामना सेवा विकास बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड ६३ लाख रुपैयाँ पुग्नेछ ।

असार मसान्तसम्ममा दुई अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन यो बैंकलाई अझै ४४ करोड रुपैयाँ पुँजी आवश्यक छ । सो पुँजी थप गर्न सेवा र कामना दुबै बैंकहरु अहिलेदेखि नै लागि परेका छन् । 

हकप्रदपछि बोनस दिँदै सेवा विकास बैंक
सेवा विकास बैंकले १ बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद वितरण गरेपछि बैंकको चुक्तापुँजीमा ५१ करोडभन्दा बढी थप हुनेछ । साथमा सेवाले गत आर्थिक वर्षको कमाईबाट १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव समेत अघि सारेको छ । बोनसबाट आठ करोड आठ लाख रुपैयाँ पुँजी थप हुनेछ ।

कामनाले पनि बोनस र हकप्रद जारी गर्ने
यता कामनाले २१.५८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको छ । प्रस्तावित बोनस सेयर राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि वितरण गरिनेछ । बोनस सेयर जारी गरेपछि बैंकको चुक्तापुँजीमा १४ करोड २७ लाख ८३ हजार रुपैयाँ थप हुनेछ । बोनस सेयर जारी गरेपछि कायम हुने चुक्तापुँजीबाट बैंकले ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने योजना बनाएको छ । उक्त हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजीमा २४ करोड रुपैयाँ थप हुनेछ । 

समग्रमा सेवाको हकप्रद र कामनाको बोनस तथा हकप्रद सेयरपछि कामना सेवाको चुक्तापुँजी तीन अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ । यससँगै कामना सेवा विकास बैंक एक सशक्त राष्ट्रिय स्तरको विकास बैंकको रुपमा स्थापित हुनेछ ।