नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले गत आर्थिक वर्ष २०७२/७३ मा ७८ करोड ३४ लाख रुपैयाँ आम्दानी गरेको छ । नेप्सेको ३५ औं वार्षिक साधारणसभाको अवसरमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नेप्सेका अध्यक्ष रामजी रेग्मीले सो जानकारी गराएका हुन् । आ.व. २०७१/७२ मा नेप्सेले ३८ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको थियो । लेखा परिक्षण प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेप्सेको व्यय सात करोड २२ लाख रुपैयाँ भएको छ भने ४८ करोड ९६ लाख रुपैयाँ खुद मुनाफा आर्जन भएको छ । अघिल्लो आर्थिक वर्षमा नेप्सेको व्यय ७ करोड ३२ लाख रुपैयाँ र खुद मुनाफा २१ करोड ५० लाख रुपैयाँ थियो । त्यस्तै, खुद नाफा रकमबाट निश्चित रकम साधारण जगेडा कोषको रुपमा छुट्याउने प्रावधान अनुरुप आ.व. २०७१/७२ मा साधारण जगेडा कोषमा ४ करोड ३० लाख रुपैयाँ व्यवस्था गरिएकोमा आ.व. २०७२/७३ मा ९ करोड ७९ लाख रुपैयाँ व्यवस्था गरिएको नेप्सेले जनाएको छ । साधारण सभाबाट आ.व. २०७२/७३ को मुनाफाबाट उक्त वर्षको चुक्ता पुँजीको आधारमा ५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय समेत भएको छ ।
आ.व. २०७२/७३ मा दोस्रो बजार गतिविधि
आ.व. २०७१/७२ मा ६५ अर्ब ३३ करोड रुपैयाँ बराबरको धितोपत्रहरुको कारोबार भएकोमा आ.व. २०७२/७३ मा १५०.९६ प्रतिशतले वृद्धि भई १६३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । परिणामस्वरुप दैनिक औसत कारोबार अघिल्लो आ.व.को ३० करोड २८ लाख रुपैयाँबाट बढेर ७० करोड ६६ लाख रुपैयाँ पुगेको छ ।
आ.व. २०७१/७२ मा ४ लाख ७७ हजार २ सय ७८ वटा कारोबारबाट १५ करोड ९७ लाख १७ हजार एक सय ७४ कित्ता सेयर खरिद बिक्री भएकोमा आ.व. २०७२/७३ मा ८ लाख ३१ हजार ९ सय ९७ वटा कारोबारबाट ३० करोड २० लाख २० हजार ९ सय ५०कित्ता सेयर खरिद बिक्री भएको छ । अघिल्लो आ.व.को तुलनामा आ.व. २०७२/७३ मा कारोबार संख्यामा ७४.३२ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको सेयर कित्तामा ८९.०९ प्रतिशतले वृद्धि आएको छ ।
आ.व. २०७१/७२ मा रु. ९ खर्ब ८९ अर्ब रहेको बजार पुँजीकरणमा ९१.०३ प्रतिशतले वृद्धि आई आ.व. २०७२/७३ मा रु. १८ खर्ब ९० अर्ब कायम भएको छ । गत आ.व. मा नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या २३२ रहेकोमा आ.व. २०७२/७३ मा थप १५ वटा कम्पनी सूचीकृत भएका छन् भने १८ कम्पनीहरु मर्ज तथा प्राप्ती भई यो संख्या २२९ कायम भएको छ । समीक्षा वर्षमा १२८ कम्पनीको रु. २१ अर्ब २ करोड बराबरको बोनस सेयर एवम् २८ कम्पनीको रु. ३ अर्ब ७४ करोड ७७ लाख बराबरको हकप्रद शेयर सूचीकृत गरिएको छ ।
नेप्से परिसूचक आ.व. २०७१/७२ को अन्त्यमा ९६१.२३ पुगेको थियो भने समीक्षा वर्षको अन्त्यमा १७१८.१५मा आइपुगेको थियो । उक्त परिसूचक अघिल्लो आ.व.को तुलनामा आ.व. २०७२/७३ मा ७८.७४ प्रतिशतले बढेको छ ।