हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डट कमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए । बैंक तथा वित्तीय संस्थासम्बन्धि विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनि गरियो । प्रधानमन्त्रीको सम्पत्ति विवरणले सवत्र चर्चा पायो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तिय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक
सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्यो । सम्पति विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले चितवनमा एक कठ्ठा जग्गा र तीन तोला सुन मात्र रहेको उल्लेख गरेका छन् । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको नाममा धनुषा जिल्लाको नगराई गाविसका विभिन्न वडामा १९ विघा जमीन, २९ लाख रुपैयाँ बैंक ब्यालेन्स, ७ लाख रुपैयाँकोे एउटा निशान भ्यान, २ हजार १ सय ६० कित्ता सेयर, ६० तोला सुन, ११ लाख रुपैयाँ क्यास र भक्तपूरमा एक रोपनी र छ आना जग्गा रहेको छ । उपप्रधान एवम अर्थमन्त्री कृष्णबहादुर महरासँग एक तोलाभन्दा कम सुन, एभरेष्ट बैंकमा ८० हजार रुपैँया ब्यालेन्स, रोल्पामा पैतृक सम्पत्तिको रुपमा नेपाली शैलीको २ तले घर, १ तले गोठ र ८ रोपनीको सुख्खा पाखो छ । त्यस्तै, स्वास्थ्य मन्त्री गगन थापाले भने आफ्नो नाममा बैंकमा ४ हजार र नगद ५ हजार रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् । त्यस्तै, श्रीमती अन्जनाको नाममा २० लाख बढी नगद, आमाको नाममा काठमाडौंको रातोपुलमा घर तथा जग्गा, बुबाको नाममा सल्यान र सुनसरीमा जग्गा, श्रीमतीको पेवा, दाइजो, पैत्रिक तथा स्वआर्जन सबै गरेर १६ तोला सुन, २०० तोला चाँदी र हिराका केही गहना तथा आफ्नो, छोरीहरु, श्रीमतीका साथै बुबा र आमाका नाममा ४५ बढी कम्पनीमा सेयर रहेको उल्लेख गरेका छन् ।
अमेरिकाले व्याजदर बढायो
अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले व्याजदर ०.२५ प्रतिशत बढायो । यसअघि अमेरिकामा व्याजदर ०.५ रहेकोमा अब बढेर ०.७५ प्रतिशत पुगेको हो । यो वर्ष फेडरल रिजर्भले व्याजदर बढाएको दोस्रो पटक हो । डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वा्चित भएपछि बसेको पहिलो नीतिगत बैठकपछि अर्थव्यवस्थामा सुधार हुने संकेत दिँदै केन्द्रीय बैंकले व्याजदर बढाएको हो । अमेरिकाको लागि यो राम्रो संकेत भएपछि नेपाल लगायत केही मुलुकहरुमा भने यसको नकारात्मक प्रभाव देखिने अनुमान गरिएको छ । फेडरल रिजर्भको यो निर्णयले अमेरिकी डलर बलियो हुने भएकाले त्यसको असर सुन बजार र सेयर बजारमा देखिने छ । यद्यपि, अमेरिकाबाट रेमिट्यान्स पठाउनेलाई भने फाइदा पुग्नेछ ।
साना विकास बैंकको विलय
ग्लोबल आइएमई बैंक लिमिटेडले प्यासिफिक डेभलपमेन्ट बैंकलाई खरिद गर्यो । बैंकको बुधबार सम्पन्न विशेष साधारणसभाले १३ करोड रुपैयाँ चुक्तापुँजी भएको प्यासिफिक डेभलपमेन्ट बैंकलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी विशेष प्रस्तावलाई पारित गरेको हो । त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकले र एस डेभलपमेण्ट बैंकलाई खरिद गर्यो ।
नेपाल हाइड्रो डेभलपरको आईपिओ निष्काशन
नेपाल हाइड्रो डेभलपर लिमिटेडले दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर निष्काशन गर्यो । कम्पनीले दोलखाका आयोजना प्रभावितका लागि एक सय रुपैंया अंकित मूल्यमा उक्त सेयर निष्काशन गरेको हो । कम्पनीले दोलखाको भिमेश्वर ८,९ र ११, मागपौवा ५ र काटाकुटी ६ का बासिन्दाका लागि दुई करोड ६० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गरेको हो । मंसिर २६ गतेदेखि निष्काशन भएको सेयर छिटोमा पुस १० र ढिलोमा माघ दुई गतेसम्म निष्काशन गरिने बताइएको छ । आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गरेर आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ । हाल कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँ रहेको छ भने चुक्तापुँजी १९ करोड ५० लाख रुपैंया रहेको छ । आयोजना प्रभावितका लागि सेयर निष्काशन गरे पश्चात कम्पनीले सोही पुँजीको १५ प्रतिशत अर्थात ३ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्दैछ । त्यस पछि कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैंया पुग्नेछ ।
सेयर निष्काशन
समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ९४ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्विकृति पायो । शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडको २७ प्रतिशत बोनस सेयर साधारणसभाबाट पारित भयो । सानिमा बैंक लिमिटेडले सि.बि.आई.एल क्यापिटल लिमिटेडलाई हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धक नियुक्त गर्यो ।
शाखा तथा सेवा विस्तार
मुक्तिनाथ विकास बैंक लिमिटेडले नवलपरासी जिल्लाको जमुनिया गाविस वडा नं. ४ स्थित गोपिगञ्जमा बैंकिङ कार्यालय सञ्चालनमा ल्यायो । नेपाल बैंक लिमिटेडले स्याङ्गजा जिल्लाको चापाकोट स्थित सुन्तलेटार शाखा सञ्चालनमा ल्यायो ।
नेपाल राष्ट्र बैंक
साताको सोमबार नेपाल राष्ट्र बैंकले २५० करोडको ट्रेजरी बिल जारी गर्यो भने विहीबार ५० करोडको रिभर्स रिपो जारी गर्यो ।
अन्य
एनएमबि बैंकले भुकम्पबाट पूर्णरुपले क्षतिग्रस्त भएको थापाथली स्थित गोरखनाथ मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गर्यो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दसैँ–तिहार–छठको उपलक्ष्यमा प्रस्तुत गरेको उपहार योजनाका छैठौं र आठौं साप्ताहिक विजेताहरुलाई उपहार बितरण गर्यो ।




